एयरबस–३२० विमानको इन्जिन मर्मतको ठेक्का प्रक्रिया रद्द नगर्न निगमलाई निर्देशन

 फागुन २७, २०७५ सोमबार १६:७:२९ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डौ –  संघीय संसदको सार्वजनिक लेखा समितिले एयरबस–३२० विमानको इन्जिन मर्मतको ठेक्का प्रक्रिया रद्द नगर्न नेपाल वायु सेवा निगमलाई निर्देशन दिएको छ । 

समितिको सोमबार सिंहदरबारमा बसेको बैठकले ठेक्का प्रक्रिया रद्द गरी रिटेन्डरको तयारी गर्नु सार्वजनिक खरिद ऐन विपरीत हुने निष्कर्ष निकाल्दै निगमलाई पुरानै ठेक्का प्रक्रिया अघि बढाउन निर्देशन दिएको हो । मूल्यका हिसाबले समेत पुरानै ठेक्का प्रक्रिया अघि बढाउन उपयुक्त हुने देखिएकाले त्यसैअनुसारको निर्देशन निगमलाई दिइएको समितिका सचिव डा. रोजनाथ पाण्डेले जानकारी दिनुभयो ।

समितिको यसअघि बसेको बैठकले त्यो टेन्डर प्रक्रियामा घोटाला भएको हुन सक्ने आशंका गर्दै विमान मर्मत तथा इन्जिन भाडामा लिनेसम्बन्धी ठेक्का प्रक्रिया तत्कालका लागि रोक्न निर्देशन दिएको थियो । सस्तोमा टेण्डर गरेको लुप्थान्सालाई समेत त्यो ठेक्का प्रक्रियामा सहभागी गराउन पनि निगमलाई समितिले निर्देश गरेको छ ।

निगमले प्रभावग्राही नभएको भन्दै त्यो ठेक्का प्रक्रियाबाटै लुप्थान्सालाई हटाएको थियो । तर समितिले छानबिनका क्रममा त्यस कम्पनीको इन्जिन मर्मतको ठेक्का सार्वजनिक खरिद ऐन र निगमको आर्थिक विनियमावली अनुसार नै रहेको ठहर गरी त्यो ठेक्का प्रक्रिया नहटाउन निगमलाई सचेत गराएको हो ।

बैठकमा समितिका सदस्यहरुले निगमले अरबौंको घाटा देशलाई हुने गरी त्यस विमानको इन्जिन ममर्तसम्बन्धी ठेक्का प्रक्रिया रद्द गरेको भन्दै आपत्ति जनाएका थिए । समितिका सदस्य डा. मिनेन्द्र रिजालले नेपाल वायु सेवा निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारले निगमलाई डुबाएको र इन्जिन मर्मतसम्बन्धी त्यो टेन्डर प्रक्रिया पनि रद्द गराउने काम उनकै निर्देशनमा भएको भन्दै आक्रोश व्यक्त गर्नुभयो ।

समितिका अर्का सदस्य प्रेम आलेले निगमले अरबौं घोटाला हुने गरी इन्जिन मर्मतका लागि नयाँ टेण्डर प्रक्रिया सुरु गर्न लागेको भन्दै आपत्ति जनाउनुभयो । उहाँले नेपाल वायु सेवा निगमका कामकारबाही राष्ट्रिय लज्जाको विषय भएको उल्लेख गर्दैै त्यसमाथि समितिले कडा निगरानी राख्ने चेतावनी पनि दिनुभयो ।

समितिका सदस्य आलेले नेपाल वायु सेवा निगमले किन सस्तोमा काम गर्ने कम्पनीलाई टेन्डर प्रक्रियाबाट हटाएको भनि आक्रोश पनि व्यक्त गर्नुभयो ।

 

अन्तिम अपडेट: चैत २७, २०८०

तपाईको प्रतिक्रिया