सडकमै सवारी चालकको आँखा जाँच

 फागुन २७, २०७५ सोमबार १७:१:३० | राजु लामिछाने
unn.prixa.net

रुकुम पश्चिम – मध्यपहाडी लोकमार्ग र राप्ती लोकमार्गमा आवतजावत गर्ने सवारी चालकहरुको आँखा चेक गरिएको छ ।
रुकुम आँखा उपचार केन्द्र सल्लेको आयोजना र जिल्ला ट्राफिक प्रहरी कार्यालय रुकुम पश्चिमको व्यवस्थापनमा शिविर सञ्चालन गरी आँखा जाँच गरिएको हो । 
सडक दुर्घटना न्यूनिकरण अभियान अन्तर्गत बाटामै सवारी चालकहरुको आँखा जाँच कार्य थालिएको आयोजकले बताएको छ । शिविरमार्फत १ सय ३५ जनाको आँखा चेक गरिएको आँखा उपचार केन्द्र सल्लेका इन्चार्ज मञ्जु बोहराले बताउनुभयो । उहाँका अनुसार, आँखा जाँच गरिएकाहरुमा बस, ट्रक र ट्रयाक्टरका चालक र सह–चालकहरु रहेका छन् ।

जाँच गरिएकाहरुमध्ये धेरैमा रंग पहिचान र रक्तचापको समस्या रहेको इन्चार्ज बोहराले बताउनुभयो । सधैँ काममा मात्र ध्यान दिने तर स्वास्थ्य अवस्था र आँखाको जाँच नगराउने समस्यालाई मध्यनजर गरेर शिविर सञ्चालन गरिएकोहो । 

आँखा उपचार केन्द्र सल्लेका सहायक इन्चार्ज पलसिं ओलीका अनुसार, शिविरमा चेक गरिएकामध्ये दुई जनामा पूर्ण रुपमा रंग पहिचान गर्न नसक्ने, एक जनामा आंशिक रंग पहिचान गर्न सक्ने र २० जनामा दृष्टिदोष रहेका कारण उनीहरुलाई चस्मा लगाउनुपर्ने सल्लाह दिइएको छ ।

चेक गरिएकामध्ये ९० प्रतिशतमा उच्च रक्तचाप रहेको ओलीले बताउनुभयो । चेक गरिएकाहरुलाई आवश्यक औषधीका साथै परामर्श दिइएको, नियमित आँखाको जाँच गराउन सुझावसमेत दिइएको आँखा उपचार केन्द्रले जनाएको छ । 

जिल्ला ट्राफिक प्रहरी कार्यालय रुकुम पश्चिमका प्रमुख भरतबहादुर भण्डारीले ट्राफिक सचेतना तथा दुर्घटना न्यूनिकरण कार्यक्रमअन्तर्गत यो कार्यक्रम गरिएको बताउनुभयो । कार्यक्रमको प्रभाव र थप जाँचको व्यबस्थाको माग आएकोले आवश्यकता पहिचान गरी पुनः शिविर सञ्चालन गरिने आयोजकले जनाएको छ । 
 

अन्तिम अपडेट: चैत १५, २०८०

राजु लामिछाने

राजु लामिछाने रुकुमका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया