माई भ्याली गोल्डकप : सुनिल खड्काको ह्याट्रिकमा हिमालयन शेर्पाले हङकङलाई ५–१ ले हरायो

 फागुन २७, २०७५ सोमबार १७:५६:२६ | सुजता सुनुवार
unn.prixa.net

इलाम – इलाममा चलिरहेको पाँचौँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण माई भ्याली गोल्डकपमा हिमालयन शेर्पा क्लब काठमाण्डौ विजयी भएको छ ।

सोमबार भएको खेलमा हङकङ नेप्लिज एकाडेमी क्लबलाई ५–१ गोल अन्तरले पराजित गर्दै हिमालयन क्लब क्वार्टरफाइलनमा प्रवेश गरेको छ ।

खेलको पहिलो मिनेटमा नै हिमालयन शेर्पा क्लबका सुनिल खड्काले गोलको खाता खोले । आठौँ मिनेटमा पुनः हिमालयनका खड्काले नै दोश्रो गोल गरी अग्रता दोब्बर बनाए । सुरुवातदेखि नै विपक्षीलाई दबाबमा राख्न सफल हिमालयनले ३७ औँ मिनेटमा अग्रता तेब्बर बनायो । हिमालयनका विसन गुरुङले गोल गर्दै पहिलो हाफमा ३–० को अग्रता बनाए । 

दोश्रो हाफको सुरुवातमा हङकङले एकमात्र जवाफी गोल फर्काउन सफल भएको थियो । ४६ औँ मिनेटमा हङकङका समीर लिम्बूले जवाफी गोल फर्काउँदै खेल ३–१ मा ल्याए । तर दोश्रो हाफमा समेत हिमालयनको दबदबा कायमै रहयो । ६६ औँ मिनेटमा पुनः हिमालयनका सुनिल खड्काले गोल गरी टिमलाई ४–१ अग्रता मात्र दिलाउँदै आफ्नो ह्याट्रिक समेत पूरा गरे । विपक्षीलाई निरन्तर दबाबमा राखेको हिमालयनका कप्तान मानबहादुर तामाङले ७७ औँ मिनेटमा गोल गरी ५–१ सहज जित दिलाएका थिए ।

खेलमा विजेता हिमालयन शेर्पा क्लब सुनिल खड्का म्यान अफ् द म्याच घोषित भए । उनले नगद १० हजार रुपैयाँ प्राप्त गरे । 

मंगलबार पहिलो क्वार्टरफाइनमा विभागीय टिम नेपाल पुलिस क्लब काठमाण्डौ र विदेशी टिम युनाइटेड क्लब दार्जीलिङ भारत प्रतिष्पर्धा गर्नेछन् ।

चैत ५ गतेसम्म चल्ने प्रतियोगितामा नेपाल, भारत, हङकङ र क्यामरुनका गरी १० टिमको सहभागिता छ  । माई भ्याली फुटबल क्लबको आयोजनामा जारी प्रतियोगिताका विजेताले नगद ७ लाख र उपविजेताले ४ लाख रुपैयाँ पुरस्कार पाउने छन् ।
 

अन्तिम अपडेट: चैत १४, २०८०

सुजता सुनुवार

सुजता सुनुवार उज्यालोमा कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया