विप्लव नेतृत्वको नेकपाका दुई जना जिल्ला नेता पक्राउ

 फागुन २७, २०७५ सोमबार १९:४९:५९ | राजु लामिछाने

रुकुम पश्चिम - स्कुल बस तोडफोड गरेको आरोपमा विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका २ जना जिल्ला नेतालाई प्रहरीले पक्राउ गरेको छ । 

गएकाे फागुन २३ गते न्यू मूनलाइट बोर्डिङ स्कुलको बस तोडफोड गरेको आरोपमा प्रहरीले विप्लव समूहका दुई जना जिल्लास्तरका नेता पक्राउ गरेको बताएको छ ।

सोमबार बेलुका मुसिकोट नगरपालिका वडा नं. १० मा लुकेर बसेका जिल्ला कमिटी सदस्यद्वय मुकुन्द रावल र प्रतिरुप बिसीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ । पक्राउ परेका रावल पार्टीको ४ नम्बर एरियाका सह-इन्चार्ज समेत हुन् ।

प्रहरी निरीक्षक प्रमोद कुमार क्षेत्रीका अनुसार, रा १ क ८७१ नम्बरको स्कुल बस विद्यालयनजिकै रोकेर राखेको बेला उनीहरुले तोडफोड गरेर भागेका थिए । तोडफोडमा संलग्नमध्ये २ जना पक्राउ गरेको र २ जना फरार रहेको उहाँले बताउनुभयो । त्यस दिन विप्लव नेतृत्वकाे नेकपाले आफ्ना कार्यकर्तामाथि धरपकड तथा बिनाकारण पक्राउ गरिएको भन्दै राप्ती बन्द को घोषणा गरेको थियो । 

मुसिकोट नगरपालिका वडा नं. ४ मा रहेका न्यू मूनलाइट बोर्डिङ स्कुलको बस बन्दको समयभन्दा पछाडि बेलुका ५ः१५ बजे तोडफोड भएको प्रहरीले जनाएको छ ।

प्रहरी निरीक्षक क्षेत्रीका अनुसार उनीहरुलाई सार्वजनिक अपराध ऐनअन्तर्गत मुद्धा चलाएर आवश्यक अनुसन्धान भैरहेको छ ।

अन्तिम अपडेट: चैत ७, २०८०

राजु लामिछाने

राजु लामिछाने रुकुमका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया