राष्ट्रको अखण्डतामा आँच आउने गरी कसैसंँग सम्झौता हुँदैन : गृहमन्त्री

 फागुन २८, २०७५ मंगलबार ६:२८:४६ | रासस
unn.prixa.net

रुपन्देही – गृहमन्त्री रामबहादुर थापाले देशको शान्तिसुरक्षा र अखण्डतामा आँच आउने गरी कसैसंँग सम्झौता नगरिने स्पष्ट पार्नुभएको छ ।

प्रदेश नं ५ स्तरीय सुरक्षा गोष्ठीलाई साेमबार भैरहवामा सम्बोधन गर्दै उहाँले केही शक्तिले शान्ति, सुरक्षा र देशको प्रगति हुन नदिन सुरक्षा खतरा सिर्जना गरेकाले त्यस्तालाई सरकारले निस्तेज पार्ने बताउनुभयो । “केही तत्वहरुलाई आधारभूत रुपमा नियन्त्रण गरिएको छ, बाँकीलाई पनि सफलतापूर्वक नियन्त्रण गर्ने प्रक्रिया अघि बढाएका छौंँ” उहाँले भन्नुभयो । 

नेत्रविक्रम चन्द समूह नेकपालाई अराजक गतिविधि र हिंसा रोकेर वार्तामा आउन उहाँले आग्रह गर्नुभयो । सिके राउत समूहका कार्यकर्ताले स्वतन्त्र मधेसको नारा लगाउनुलाई गृहमन्त्री थापाले अन्तिम बिदाइ कार्यक्रम भएको बताउँदै भन्नुभयो, “उहाँहरु सरकारसँग सम्झौता गरेर मूलधारको राजनीतिमा आउनुभएको छ । कार्यकर्तामाझ सबै कुरा पुगिनसकेकाले केही गतिविधि गरेका हुन्, अब प्रशिक्षित हुन्छन् र त्याग्छन् ।” स्वतन्त्र मधेश गठबन्धनसँग जनमतसङ्ग्रह नभई जनअभिमत भन्ने सम्झौता भएको उहाँले स्पष्ट पार्नुभयो ।

राष्ट्रको शान्ति र सुरक्षामा प्राकृतिक प्रकोप पनि चुनौतीको रुपमा आएकाले त्यसबाट हुने क्षति र असुरक्षालाई बढीभन्दा बढी न्यूनीकरण गर्न सरकारले बढी भूमिका खेल्ने उहाँको भनाइ थियो । 

सुरक्षा गोष्ठीमा प्रदेश नं ५ का आन्तरिक मामिला तथा कानूनमन्त्री कुलबहादुर केसी, गृहसचिव प्रेमकुमार राई, प्रदेश ५ का प्रमुख सचिव, सुरक्षा निकायका प्रमुख, प्रदेशका १२ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी, सरकारका सुरक्षा सल्लाहकारलगायत उच्च अधिकारीको सहभागिता थियो । गोष्ठीले प्रदेशस्तरीय सुरक्षा रणनीति बनाएको बताइएको छ ।

कारागार सार्न आग्रह 

सिद्धार्थनगर नगरपालिकाले जिल्ला कारागारलाई स्थानान्तरण गर्न गृहमन्त्री थापासँग आग्रह गरेको छ । नगरपालिकाले साेमबार ज्ञापनपत्र बुझाउँदै मन्त्री थापालाई ओमसतियामा रहेको जमीनमा कारागार स्थानान्तरण गर्न आग्रह गरेको हो । 

प्रदेश नं ५ को सुरक्षा गोष्ठीमा सहभागी हुन भैरहवा आउनुभका मन्त्री थापालाई नगर प्रमुख हरिप्रसाद अधिकारी र उपप्रमुख उमा काफ्लेले ज्ञापन पत्र बुझाउँदै यस्तो अनुरोध गर्नुभयो । अहिले जिल्ला कारागार नगरपालिकाको वडा नम्बर १२ कालिकापथमा छ । त्यहाँबाट नगरपालिकाको स्वामित्वमा रहेको साविक पटखौली गाविस हाल ओमसतिया गाउँपालिकामा रहेको ६ बिघा सात कठ्ठा साढे तेह्र धुर जमीनमा स्थानान्तरण गर्न नगरपालिकाले आग्रह गरेको नगर प्रमुख अधिकारीले बताउनुभयो । 

नगरपालिकाको गएकाे मङ्सिर १ गते बसेको बैठकले कारागार नगरपालिकाबाट ओमसतिया सार्न सर्वसम्मत निर्णय गरेको थियो । निर्णय भएलगत्तै नगरपालिकाले जिल्ला प्रशासन कार्यालय, कारागार कार्यालय र कारागार व्यवस्थापन विभागलाई आग्रह गरिसकेको उपप्रमुख काफ्लेले बताउनुभयो । 
 

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया