कक्षा ८ को प्रश्नपत्र चोरी, २ दिन परीक्षा स्थगित

 फागुन २८, २०७५ मंगलबार १०:५६:२९ | भावुक योगी
unn.prixa.net

बर्दिया – बर्दियाको ठाकुरबाबा नगरपालिकामा आइतबारदेखि सुरु भएको कक्षा ८ को नगरस्तरीय परिक्षाको प्रश्नपत्र विद्यालयबाट चोरी भएको छ ।

ठाकुरबाबा नगरपालिका ६ बकुवामा रहेको जनज्योति माध्यमिक विद्यालयको कार्यालय तोडफोड गरी सोमबार राति प्रश्नपत्र चोरी भएको हो ।

नचिनेका व्यक्तिले सोमबार राति विद्यालयको कार्यालयमा रहेको ढोकाको ताला तोडेर कक्षा ८ का अधिकांश विषयका प्रश्नपत्र चोरी गरेको नगर शिक्षा शाखा प्रमुख सीता भण्डारीले जानकारी दिनुभयो ।

प्रश्नपत्रसँगै विद्यालयमा रहेको एउटा ल्यापटपसमेत चोरी भएको विद्यालयले जनाएको छ । विद्यालयको ताला फोडेर प्रश्नपत्र चोरी भएको खबर प्राप्त भए लगत्तै इलाका प्रहरी कार्यालय भुरिगाउँको प्रहरी टोली विद्यालय पुगेर अनुसन्धान सुरु गरेको छ ।

प्रश्नपत्र चोरी भएपछि मंगलबार र बुधबार दुईदिनका लागि परीक्षा स्थगित गरिएको र परीक्षा हुन बाँकी रहेका सबै विषयका प्रश्नपत्र पुनः नयाँ बनाएर बिहीबारदेखि नियमित सुचारु गरिने नगर शिक्षा शाखा प्रमुख सीता भण्डारीले बताउनुभयो ।

प्रश्नपत्र चोरी भएपछि मंगलबारको विज्ञान विषय र बुधवारको सामाजिक विषयको परीक्षा अन्तिम दिन पछि चैत ५ गते पछि हुने नगर शिक्षा शाखाले जनाएको छ । यसअघि जिल्ला स्तरीय परीक्षा हुँदै आइरहेको कक्षा ८ को परीक्षा स्थानीय सरकार भएपछि गएको वर्षदेखि ठाकुरबाबा नगरपालिकाले नगरस्तरीय परीक्षा लिन सुरु गरेको थियो ।

यसपटक ठाकुरबाबा नगरपालिकाबाट कक्षा ८ का १ हजार ४६० जना परीक्षार्थी मध्ये पहिलो दिन २३ जना परीक्षार्थी अनुपस्थित भएका थिए ।
 

अन्तिम अपडेट: चैत १, २०८०

भावुक योगी

बर्दियाका उज्यालो सहकर्मी भावुक योगी बर्दियाको रेडियो टाइगरमा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया