झण्डै चार हजार युवालाई रोजगार बनाइँदै

 फागुन २८, २०७५ मंगलबार १४:२३:२ | रासस

काठमाण्डौ – सरकारले यो वर्ष झण्डै चार हजार बेरोजगार युवालाई रोजगार बनाउनका लागि निःशुल्क तालीम सञ्चालन गर्ने भएको छ । 

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गतको व्यावसायिक शिक्षा तथा तालीम अभिवृद्धि परियोजना (इभेन्ट)ले योवर्ष तीन हजार ६६० बेरोजगार युवालाई स्वरोजगार बनाउन निःशुल्क तालीम सञ्चालन गर्ने भएको इभेन्टका सूचना अधिकारी नेत्रनारायण पौडेलले जानकारी दिनुभयो ।

उहाँले छोटो अवधिका तीन महीने तालीमपछि युवा आफैं स्वरोजगार हुने विश्वास व्यक्त गर्नुभयो । ३९० घण्टा सञ्चालन हुने तालीममा इलेक्ट्रेसियन, सिलाइकटाइ, जुनियर प्लम्बर, खाने पकाउने, कृषि, मोबाइल मर्मत, विभिन्न पहिरन निर्माण रहेका छन् । 

तालीमको लागि भृकुटीमण्डपमा आइतबारदेखि मंगलबारसम्म भौचर सङ्कलन गरिएको थियो । तालीममा प्रशिक्षार्थीलाई दैनिक ७५ रुपियाँ बराबरको खाजा समेत उपलब्ध गराइनेछ । 

तालिममा देशभरिका १६ देखि ४० वर्ष उमेर समूहका साधारण लेखपढ जान्ने, आर्थिक रुपमाले विपन्नता भएका लगायत युवा सहभागी हुन सक्नेछन् । 

तीन महीनाको तालीमपश्चात प्रशिक्षार्थीको तालीमको सीप परीक्षण गरेर छ महीना रोजगारीमा जानु पर्नेछ । यसरी तालीमपश्चात तालीम दिने संस्थाले नै रोजगारमा लगाउने दायित्व रहेको सूचना अधिकारी पौडेलले बताउनुभयो । भौचरको आधारमा चैतको दोस्रो हप्ताबाट तालीम सञ्चालित हुनेछ । 
 

अन्तिम अपडेट: चैत २१, २०८०

तपाईको प्रतिक्रिया