मकवानपुरमा जन्ती बोकेको बस दुर्घटना : दुई जनाको ज्यान गयो, १८ घाइते

 फागुन २८, २०७५ मंगलबार १४:५३:२२ | हरि हुमागाईं
unn.prixa.net

मकवानपुर – मकवानपुरको गढी गाउँपालिका वडा नम्बर –२, धरमपानीमा मंगलबार जन्ती बोकेको बस दुर्घटना हुँदा २ जनाको ज्यान गएको छ भने १८ जना घाइते भएका छन् । 

ज्यान गुमाउनेमा काभ्रे पाँचखाल लामिडाँडा घर भएका ३५ वर्षीय नवराज परियार र नुवाकोट घर भएका २५ वर्षीय विकास धमला रहेकोे सशस्त्र प्रहरी गण हेटौंडाका डीएसपी अमर खत्रीले बताउनुभयो ।

घाइते सबैको अहिले हेटौँडामा उपचार भैरहेको छ । घाइतेहरुमध्ये १२ जनाको हेटौँडाको चुरेहिल अस्पतालमा र ६ जनाको हेटौँडा अस्पतालमा उपचार भैरहेको छ । भक्तपुरबाट जन्ती बोकेर हेटौंडातर्फ आउँदै गरेको बा ४ ख २२१७ नम्बरको बस कान्ति लोक मार्गअन्तर्गत मकवानपुरको गढी गाउँपालिका–२, धरमपानीमा दुर्घटना हुँदा २ जनाको घटनास्थलमै ज्यान गएको हो । 

भक्तपुरबाट सूर्यप्रसाद न्यौपानेको बिहेको जन्ती बोकेर हेटौंडा-५, पिप्लेमा दुलही अनुसा भट्टलाई लिनका लागि जन्ती आउने क्रममा बस दुर्घटनामा परेको थियो । 

जन्ती बोकेर आएको तीन वटा बसमध्ये सबैभन्दा पछाडिको बस दुर्घटनामा परेको हो । दुर्घटनामा घाइते भएकामध्ये ५ जनाको अवस्था गम्भीर रहेको छ । 

बस सडकबाट २० मिटर तल खसेर रुखमा अड्किएको छ । दुर्घटनाको जानकारी पाएलगत्तै हिँडेको जिल्ला प्रहरी कार्यालयबाट डीएसपी यज्ञप्रसाद भट्टराईसहितको टोली घटनास्थल पुगेको छ । 
 

अन्तिम अपडेट: चैत १४, २०८०

हरि हुमागाईं

मकवानपुरका उज्यालो सहकर्मी हरि हुमागाईं नेपाल पत्रकार महासंघको पूर्व जिल्ला अध्यक्षसमेत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया