हामी साथीभन्दा माथि जान सक्दैनाैँ : साइँला-साइँली

 फागुन २८, २०७५ मंगलबार १५:४०:१९ | मनोज दाहाल
unn.prixa.net

काठमाण्डाै – दुई वर्ष अगाडि गायक हेमन्त रानाको अवाज रहेको गीत ‘साइँली’मा अभिनय गरेपछि अभिनेता गौरव पहारी र अभिनेत्री मेनुका प्रधानको परिचय नै फेरियो ।  

त्यस गीतको लोकप्रियताले उनीहरुलाई सबैले साइँला र साइँलीको रुपमा चिने । अहिले पनि उनीहरुको त्यो परिचय कायमै छ ।

त्यस गीतको लोकप्रियता पछि यो टिमले सिनेमा ‘साइँली’ निर्माण गरेको छ । यो सिनेमा आगामी चैत १५ गतेदेखि प्रदर्शनमा आउँदैछ । यतिबेला साइँला-साइँली अर्थात गौरव र मेनुका यही सिनेमाको प्रचार प्रसारमा दौडिरहेका छन् ।

सिनेमाको प्रचार-प्रसारको क्रममा कुरा गर्दै साइँलीले एक महिलाको कथा बोल्ने बताए । नेपाली समाजमा भएकी एक जना महिलाको मुख्य कथा सिनेमाले बोल्छ, जसमा मुख्य भूमिका अभिनेत्री मेनुका प्रधानले निर्वाह गरेकी छिन् । यस सँगै सिनेमाले वैदेशिक रोजगारीको कथा पनि बोकेको छ ।

सिनेमाका बारेमा बोल्दै अभिनेत्री मेनुकाले भनिन्, ‘अलिकति कथा त सिनेमाको ट्रेलरले बोलेको छ तर अझै मुख्य कुराहरु सिनेमामा हेर्नै बाँकी छ ।’अभिनेता गौरवले नेपालमा मात्रै नभएर विश्वभरि नै जहाँजहाँ नेपालीहरु हुनुहुन्छ उहाँहरुलाई छोडेर गएको गाउँ-ठाउँलाई यो सिनेमाले महसुस गराउने  बताए ।

यसकासाथै सिनेमाको ट्रेलर सार्वजनिक भइसकेपछि दर्शकको अत्यन्तै राम्रो प्रतिकृया मिलिरहेको उनीहरुले बताए । धेरैले उनीहरुलाई सिनेमाको ट्रेलरमा गौरव र मेनुका भन्दा पनि विशुद्ध पात्रको रुपमा प्रस्तुत भएको प्रतिकृया दिएका छन् । यसले आफूहरुलाई थप उर्जा दिएको उनीहरुले बताए ।

साइँलीको लोकप्रियतापछि यो जोडीलाई धेरैले वास्तविकजीवनको जोडीको रुपमा पनि हेर्ने गरेका छन् । अहिले धेरैले उनीहरुको विवाह भएको हेर्ने चाहना व्यक्त गर्दै आएका छन् ।

तर उनीहरु वास्तविक जीवनमा भने एक-अर्काको मिल्ने साथीमात्रै भएको बताउँछन् । यस बारेमा बोल्दै गौरवले भने, ‘हामी साथी भएको यति धेरै भइसक्यो कि हामी त्यसमै ठिक छौँ । झण्डै ६ वर्ष देखि हामी साथी छौँ । हाम्रो सम्बन्ध साथी भन्दा माथि जाने सम्भावना पनि छैन ।’ 

त्यस्तै मेनुकाले यस बारेमा भनिन्, ‘योसँग साथी हुनु नै रमाइलो भइरहेको छ  मलाई । हाम्रो मित्रता सधैँका लागि हो ।’

मेनुका र गौरव एकअर्काको प्रेममा रहेको सोच्नेहरुका लागि उनीहरुको यो जवाफ नै पर्याप्त छ । त्यसाे त मेनुका सिनेमा क्षेत्रकै अर्का एक जना व्यक्तिसँग प्रेममा रहेको बुझिएको छ । यो कुरा मेनुकाका निकट साथी र आफन्तहरुलाई समेत थाहा छ । यही कारण पनि मेनुका र गौरवको सम्बन्ध साथीभन्दा माथि नजाने बुझिन्छ ।

अन्तिम अपडेट: फागुन ३०, २०८०

मनोज दाहाल

मनाेज दाहाल कला तथा मनाेरञ्जन विधामा कलम चलाउनुहुन्छ ।

तपाईको प्रतिक्रिया