साफ महिला च्याम्पियनसिप फुटबल : नेपालकाे विजयी सुरुवात, भुटान ३-० ले पराजित

 फागुन २८, २०७५ मंगलबार १७:८:५५ | उज्यालो सहकर्मी
unn.prixa.net

माेरङ - साफ महिला च्याम्पियनसिप फुटबलमा नेपालले विजयी सुरुवात गरेको छ ।

विराटनगरको शहीद रंगशालामा मंगलबार भएको उद्घाटन खेलमा नेपालले भुटानमाथि ३–० को जित निकालेको हो । पहिलो हाफकाे १६ मिनेटमै नेपालले २ गोल गरेको थियो । 

खेलको पहिलो मिनेटमा गोलको अवसर पाएको नेपालका लागि सावित्रा भण्डारी चुक्न पुगिन् । त्यसपछि १३ औंँ मिनेटमा नेपालले अग्रता बनायो । नेपालका लागि मञ्जली कुमारी योञ्जनले डिबक्स भित्रबाट गोल गर्न सफल भइन् । त्यसको तीन मिनेटपछि नेपालले अग्रता दोब्बर बनाउन सफल भएको थियो । यसपटक नेपालका लागि सावित्रा भण्डारीले गोल गरिन् । उनले एकल प्रयासमा गोल गरेकी थिइन् । सावित्राको यो २३ औं अन्तर्राष्ट्रिय गोल हो ।

त्यसपछि ३४ औं मिनेटमा सावित्रा भण्डारीले डिबक्समा पाएको मौकालाई सदुपयोग गर्न सकिनन् । पहिलो हाफको इन्जुरी समयमा अनिता बस्नेतले डिबक्समा पाएको उत्कृष्ट मौकालाई सदुपयोग गर्न नसक्दा नेपालले तेस्रो गोल गर्ने उत्कृष्ट मौका खेर फाल्यो । 

पहिलो हाफमा २–० को अग्रता बनाएको नेपालले दोस्रो हाफमा एक गोल मात्र थपेको थियो । नेपालले ५४ औं मिनेटमा नेपालले तेस्रो गोल गरेको थियो । अनिता बस्नेतको क्रसमा सावित्रा भण्डारीले हेडबाट आएको बललाई निरु थापाले गोल गरिन् ।

त्यसपछि पनि लगातार नेपालले मुभ बनाए पनि गोल थप्न भने सकेन । भुटानले केही अवसर पाए पनि नेपाली खेलाडीले सहजै बल क्लियर गरेका थिए ।

मंगलबारबाट सुरु भएको साफ महिला च्याम्पियनसिपमा नेपालसहित ६ टिमको सहभागिता रहेको छ । बुधबारकाे खेलमा मालदिभ्स र भारतबीच प्रतिस्पर्धा हुनेछ ।

अन्तिम अपडेट: चैत १५, २०८०

तपाईको प्रतिक्रिया