देवालयमा राखिएका शालिग्राम चोरी गर्ने गिरोह नियन्त्रणमा

 फागुन २८, २०७५ मंगलबार १८:५:४९ | सन्तोष थापा
unn.prixa.net

 पर्वत – पर्वतको मोदीबेनीस्थित नृसिंह मन्दिरमा संग्रह गरेर राखिएका शालिग्राम चोरी गर्ने गिरोहलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

जंगलमा लुकाइएको अवस्थामा ३८ थान शालिग्रामसहित प्रहरीले तीन जना अभियुक्तलाई कुश्मा बजारबाट पक्राउ गरेको हो । 

कुश्मा नगरपालिका वडा नम्बर-४, छमर्केको जंगलमा लुकाएर राखिएको अवस्थामा शालिग्राम भेटिएको जिल्ला प्रहरी कार्यालय पर्वतले पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ । मन्दिरमा  राखिएका शालिग्राम झण्डै दुई सय वर्ष पुराना भएको बताइन्छ । 
    
शालिग्राम चोरीको अभियोगमा पक्राउ पर्नेमा कुश्मा नगरपालिका वडा नम्बर ४ का  २८ वर्षीय कसम पुन, कुश्मा नगरपालिका वडा नम्बर ६ का २९ वर्षीय सुमन गुरुङ र कुश्मा नगरपालिका वडा नम्बर १० बस्ने ३२ वर्षीय लेखबहादुर नेपाली रहेका छन् ।  

धादिङ्गको  निलकण्ठ नगरपालिका घर भै कुश्मा नगरपालिका वडा नम्बर  ५ मा बस्दै आएका  २५ वर्षीय अञ्जन बराइली भने फरार रहेको र खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ । 

वि.सं. १८९० सालमा बनाइएको नृसिंह मन्दिर स्थापनाकालमा नै शालिग्राम मन्दिरमा राखिएको इतिहास छ । मन्दिरमा एक सय ग्रामदेखि पाँचसय ग्रामसम्मका साना-ठूला शालिग्राम राखिएको थियो । भारतका विभिन्न शहरमा शालिग्रामका शिला महंगो मूल्यमा बिक्री हुने गरेको छ । 

मंहगो मूल्यमा बिक्री हुने लोभले चोरले शिला चोरेको हुन सक्ने अनुमान गरिएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी नायव उपरीक्षक भुवनेश्वर तिवारीले जानकारी दिनुभयो ।

प्रहरीको नियन्त्रणमा रहेका आरोपितहरुलाई सोमबार नै जिल्ला सरकारी वकिल कार्यालयमार्फत पर्वत जिल्ला अदालतमा चोरी मुद्धाअन्तर्गत मुद्धा दर्ता गराएको थियो । 

मुलुकी संहिता ऐन २०७४ को परिच्छेद २० को दफा २४२ अनुसार मन्दिर तथा देवदेवालयमा रहेका सामग्री चोरी गर्नेलाई कम्तीमा २ वर्षदेखि ७ वर्षसम्म कैद सजाय र २० हजारभन्दा माथि जरिबाना गर्ने व्यवस्था रहेको छ ।      
    

अन्तिम अपडेट: चैत ४, २०८०

सन्तोष थापा

पर्वतका उज्यालो सहकर्मी सन्तोष थापा त्यहाँको स्थानीय पत्रिकामा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया