जहाँजहाँ धेरै पैसा छ भन्ने लाग्छ त्यहीँ बम हान्नेहरुसँग केको वार्ता : प्रधानमन्त्री ओली

 फागुन २८, २०७५ मंगलबार १७:४८:३४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - प्रधानमन्त्री केपी शर्मा ओलीले हिंसाबाट आतङ्क मच्चाएर लुटपाट गर्ने समूहसँग सरकारले वार्ता नगर्ने बताउनुभएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घको टोलीसँगको आजको भेटघाटमा उहाँले बम पड्काउने र पैसा असुल्नेसँग वार्ता गर्नुको औचित्य नभएको स्पष्ट पार्नुभयो । 

'कतिपयले वार्ता गर्नुपर्‍यो भन्छन् तर केका लागि वार्ता गर्ने ? उनीहरुले गरेका क्रियाकलाप राजनीतिक हुन् ? बम पड्काउने, आतङ्कित पार्ने, पैसा असुल्ने कुरा राजनीतिक हुन सक्दैनन्', उहाँले भन्नुभयो, 'जहाँजहाँ धेरै पैसा छ भन्ने लाग्छ त्यहीँ बम हान्नेहरुसँग केको वार्ता ? उनीहरुलाई कानूनबमोजिम नियन्त्रणमा लिइन्छ ।” 

प्रधानमन्त्री ओलीले एउटा गिरोहले कम्युनिष्टका नाममा आतङ्कित पार्ने काम गरिरहेको उल्लेख गदै भन्नुभयो, 'कम्युनिष्टले त युवालाई कर्मशील हुन, सही बाटोमा हिँडाउन र उत्पादनमा लाग्न सिकाउनुपर्ने हो, यहाँ त कम्युनिष्टको नाममा युवालाई लुट्न सिकाइरहेका छन् । यो हुन सक्ने कुरा होइन ।' 

यही फागुन २४ गते सङ्घका अध्यक्ष रोहन गुरुङका घरमा बम हानेको विषयमा प्रधानमन्त्रीको ध्यानाकर्षण गर्न व्यवसायीकाे टोली बालुवाटारआएको थियो । प्रधानमन्त्री ओलीले अध्यक्ष गुरुङका घरमा भएको विस्फोटप्रति दुःख व्यक्त गर्दै घटनाबारे सरकारले छानबिन गर्ने प्रतिबद्धता जनाउनुभयो । 

अन्तिम अपडेट: चैत ६, २०८०

तपाईको प्रतिक्रिया