माई भ्याली गोल्डकप : दार्जीलिङलाई हराउँदै पुलिस क्लब सेमिफाइनलमा

 फागुन २८, २०७५ मंगलबार १९:२८:४५ | सुजता सुनुवार
unn.prixa.net

इलाम – नेपाल पुलिस क्लब काठमाण्डौ इलाममा जारी पाँचौ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण माई भ्याली गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । 

मंगलबार भएको खेलमा पाहुना टिम युनाइटेड क्लब दार्जीलिङसँग २–१ को जित निकाल्दै पुलिस क्लब सेमिफाइनलमा प्रवेश गरेको हो ।

खेल सुरु भएको छैटौँ मिनेटमा नै सौजन्य याक्खा राईको गोलले पुलिसले अग्रता बनाएको थियो । दार्जीलिङका गोलरक्षक विनोद क्षत्रीले पुलिसका खेलाडीलाई फाउल गरेपछि पाएको अवसरलाई सदुपयोग गर्दै राईले गोल गरेका थिए ।

खेलको ८० औँ मिनेटमा पुलिस क्लबका भरत शाहले गोल गरी अग्रता दोब्बर बनाए । उता दार्जीलिङले भने ८६ औँ मिनेटमा सान्त्वना गोल फर्काउन सफल भएको थियो । दार्जीलिङका करन राईले सान्त्वना गोल फर्काएका थिए ।

खेलको म्यान अफ् द म्याच विजेता नेपाल पुलिस क्लबका सौजन्य याक्खा राई घोषित भए । उनले नगद १० हजार रुपैयाँ प्राप्त गरे । 

बुधबार डिफेन्डिङ च्याम्पियन थ्रीस्टार क्लब ललितपुर र हिमालयन शेर्पा क्लब काठमाण्डौबीच खेल हुनेछ ।

५ चैतसम्म चल्ने प्रतियोगितामा नेपाल, भारत, हङकङ र क्यामरुनका गरी १० टिमको सहभागिता छ । माईभ्याली फुटबल क्लबको आयोजनामा जारी प्रतियोगिताका विजेताले नगद ७ लाख र उपविजेताले ४ लाख रुपैयाँ पुरस्कार पाउने छन् ।

२०७१ सालमा सुरु माई भ्याली गोल्डकप पुरस्कार र धनराशिका हिसाबले पूर्वी पहाडकै प्रतिष्ठित प्रतियोगिता हाे ।
 

अन्तिम अपडेट: चैत १४, २०८०

सुजता सुनुवार

सुजता सुनुवार उज्यालोमा कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया