छोरी बलात्कार गर्ने बाबुलाई ३७ वर्ष कैद सजाय

 फागुन २८, २०७५ मंगलबार १८:५९:२८ | शिव ढुंगाना
unn.prixa.net

ओखलढुंगा– आफ्नै नाबालिका छोेरी बलात्कार गर्ने बाबुलाई ओखलढुंगा जिल्ला अदालतले ३७ वर्ष ६ महिना कैद सजाय हुने फैसला गरेको छ । 

ओखलढुंगाको सुनकोशी गाउँपालिकाका ३६ वर्षीय एक पुरुषलाई जबरजस्ती करणी तथा हाडनाता करणी मुद्दामा यो सजाय निर्धारण गरिएको ओखलढुंगा जिल्ला अदालतका श्रेष्तेदार नेत्रबन्धु पौड्यालले जानकारी दिनुभयो । 

पौड्यालका अनुसार हाडनाता करणीतर्फ जन्मकैद अर्थात् २५ वर्ष र जबरजस्ती करणीतर्फ जन्मकैदको आधा सजाय १२ वर्ष ६ महिना गरी दुई कसुरमा ३७ वर्ष ६ महिना सजाय तोकिएको हो । 

मुलुकी अपराध संहिता कार्यान्वयनमा आएपछि  कसुर निर्धारण गरेपछि सजाय निर्धारण गरेर यति धेरै वर्ष कैद फैसला भएको पहिलो मुद्दा यही भएको श्रेस्तेदार पौड्यालले बताउनुभयो । यसअघि पनि अभियुक्त पुर्पक्षका लागि कारागारमा थिए । 

प्रहरी र अदालतले पीडितको पहिचान खुल्ने भएकाले पीडकको नाम सार्वजनिक गरेको छैन । पीडक ०७५ असोज १३ गते १३ वर्षीया छोरीलाई बलात्कार गरेको अभियोगमा पक्राउ परेका थिए । 

उनीविरुद्ध कात्तिक ८ गते ओखलढुंगा जिल्ला अदालतमा जबरजस्ती करणी तथा हाडनाता करणी मुद्दा दर्ता भएको थियो । पीडित बालिकाले अधिकारकर्मीको सहयोगमा बाबुबाट आफू पटक–पटक बलात्कृत भएको उजुरी गरेकी थिइन् । 
 

अन्तिम अपडेट: बैशाख ७, २०८१

शिव ढुंगाना

शिव ढुंगाना ओखलढुंगाका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया