मूट काेर्ट प्रतियाेगिता : हाेवार्ड युनिभर्सिटीलाई हराउँदै काठमाण्डाै स्कुल अफ् ल विजयी

 फागुन २८, २०७५ मंगलबार २०:२:१६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – काठमाण्डौमा गएको शनिबार अमेरिकी र नेपाली कानुनका विद्यार्थीहरुको बीचमा मुटकोर्ट प्रतियोगिता भएको छ । कार्यक्रमको उद्घाटन गर्दै नेपालको लागि अमेरिकी राजदूत र्‍याण्डी बेरीले यस्तो प्रतिस्पर्धाको आयोजनाले विद्यार्थीहरुलाई क्षमतावान बनाउनुका साथै दुई देशको सम्बन्धमा पनि मधुरता ल्याउने बताउनुभएको थियो । 

यस्तै उद्घाटन समारोहमा नेपालको सर्वोच्च अदालका न्यायाधीश अनिल सिन्हा र सपना मल्ल र राष्ट्रिय न्यायिक प्रतिष्ठानका कार्यकारी निर्देशक तोपबहादुर मगरले पनि आफ्नो महत्वपूर्ण विचार प्रस्तुत गर्नुभएको थियो ।

नेपालस्थित अमेरिकी दूतावासको न्याय विभागद्वारा आयोजना गरेकोे यस प्रतियोगितामा दुई देशका तीस जना कानुनका विद्यार्थीहरुले भाग लिएका थिए । कानुनका विद्यार्थीहरुलाई अन्तर्राष्ट्रिय मुद्दामाथि बहस गराएर उनीहरुको क्षमता वृद्धि गर्नको लागि यो कार्यक्रम आयोजना गरिँदै आएको छ ।

कार्यक्रममा नेपालका विभिन्न पाँच ल क्याम्पसका २५ विद्यार्थी र अमेरिकाका पाँच जनासहित जम्मा ३० विद्यार्थीहरुले कार्यक्रममा भाग लिएका थिए । 

मार्च ७ मा उद्घाटन भएर मार्च ९ मा सम्पन्न भएको मूट कोर्ट प्रतिस्पर्धामा प्रथम स्थान नेपालको काठमाण्डौ ल क्याम्पसको टिम ‘मार्सल’ले हासिल गरेको थियो ।

अमेरिकाको हाेवार्ड विश्वविद्यालयको टिम ‘राना’लाई पराजित गर्दै काठमाण्डौ ल क्याम्पस विजेता बनेको हो । टिम राना फर्स्ट रनरअप बनेको थियो ।

अघिल्लो वर्ष पनि मूट कोर्ट प्रतियाेगिताकाे उपाधि पनि नेपालको नेपाल ल क्याम्पसले  जितेको थियो । नेपालले लगातार दुई पटक यो उपाधि जितेको छ ।

अन्तिम अपडेट: बैशाख ११, २०८१

तपाईको प्रतिक्रिया