'भारतको भन्दा चीनको रेल छिटो आउन सक्छ'

 असार ११, २०७५ सोमबार १५:१४:२१ | मदन पौड्याल
unn.prixa.net

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणमा काठमाडौंसम्म रेल ल्याउने विषयमा महत्वपूर्ण सहमति भएको छ ।

अघिल्लो पटक भारतको नाकाबन्दीका बेला भएको चीन भ्रमणमा केरुङ – रसुवागढी काठमाडौं रेल जोड्ने चर्चा भएको थियो । तर यसपटक भने सहमति नै भएको छ । चीनकै अनुदानमा पूर्वसम्भाव्यता अध्ययन गर्ने सहमति भएको हो । यसलाई यो भ्रमणको सबैभन्दा ठूलो सफलताका रुपमा लिइएको छ । 

चीनसँग भएको सहमति जस्तै भारतले पनि वीरगंज काठमाडौं रेलमार्ग बनाइदिने भनेको छ । यसअघि चैत अन्तिम हप्ता प्रधानमन्त्री ओलीले गर्नुभएको भारत भ्रमणमा यो सहमति भएको हो । प्रधानमन्त्री ओलीको चीन र भारत दुवै छिमेकी देशको भ्रमणमा रेलमार्ग नै मुख्य एजेण्डा बनेको छ ।

पछिल्ला भ्रमणको क्रममा दुवै देशले काठमाडौंसम्म रेल पुर्याउने प्रतिबद्धता जनाएका छन् । यसरी हेर्दा दुई छिमेकी भारत र चीनले काठमाडौंलाई रेलमार्गबाट जोड्न प्रतिस्पर्धा नै गरेको देखिन्छ । अनि भारतीय र चिनियाँ रेलको गन्तव्य नै काठमाडौं बन्ने भएको छ ।

चीनसँग सहमति 

नेपाल र चीनले केरुङ–रसुवागढी–काठमाडौं रेलमार्ग निर्माणका विषयमा बिहीबार समझदारी पत्रमा हस्ताक्षर गरेका छन् । योसँगै रेल सञ्जालले काठमाडौं जोड्ने आशा केही बढेको छ । दुई चरणमा रेलमार्गको काम गर्ने तयारी छ ।

चिनियाँ रेलमार्ग केरुङबाट नेपालको सीमावर्ती रसुवागढीसम्म ल्याउने अनि विस्तार गरी काठमाडौं जोड्ने सहमति भएको हो । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीका अनुसार पूर्व सम्भाव्यता अध्ययन भदौसम्ममा सक्ने अनि डेढ वर्षमा विस्तृत परियोजना प्रतिवेदन डीपीआर बनाउने योजना छ । निर्माण थालेको ५ वर्षमै रेलमार्गले काठमाडौं जोड्ने लक्ष्य छ ।

चिनियाँ रेल ७ वर्षमा काठमाडौं !

केरुङ – काठमाडौं विद्युतीय रेलमार्ग बनाउने सहमति भएको छ । तर आर्थिक पक्ष र प्राविधिक विवरण टुंग्याउन बाँकी नै छ । त्यसो सरकारले तराई–काठमाडौं र काठमाडौं –रसुवागढी रेलमार्गका लागि आउँदो वर्षको बजेटमा रकमसमेत छुट्याएको छ । तर चिनियाँ रेल काठमाडौं ल्याउन झण्डै ३ खर्ब ३५ अर्ब रुपैयाँ प्रारम्भिक लागत अनुमान गरिएको छ । जुन नेपाल सरकारले खर्च गर्न सक्ने क्षमता छैन ।

लगानी जुटाउने मुख्य समस्या देखिएको छ । लगानीका विषयमा नेपाल सरकारले चीन सरकारसँग आग्रह गरेको छ । चीनले यसबारेमा बोलिसकेको छैन । लगानी जुटाएर सरासर काम हुने हो भने सम्भाव्यता अध्ययन, डीपीआर तयार र निर्माण सम्पन्न गर्न झण्डै साढे ७ वर्ष लाग्ने देखिन्छ ।

भारतीय सर्वे टोली पनि काठमाडौंमा

दक्षिणी छिमेकी भारतले बीरगंज काठमाडौं रेलमार्ग बनाउन सहमति जनाएको छ । बीरगंज – काठमाडौंं रेलमार्ग भारत सरकारले आफ्नै खर्चमा गर्ने पनि सहमति भएको छ । त्यसको अध्ययनका लागि भारतीय सर्वे टोली काठमाडौं आइसकेको चीन जानुअघि प्रधानमन्त्री ओलीले संसदमा जानकारी पनि गराउनुभएको थियो । 

कुन चाहिँ पहिले ?

रेलमार्ग कहिलेसम्म सक्ने भन्नेबारे दुवै छिमेकीले खुलाएका छैनन् । उत्तरी चिनियाँ रेल तिब्बतको सिगात्सेसम्म आइपुगेको छ । अब काठमाडौं ल्याउने हो । त्यसपछि पोखरा अनि लुम्बिनी पनि जोड्ने भनिएको छ । चिनियाँ राष्ट्रपति सी जिङपिङले अगाडि सारेको परियोजना ‘बेल्ट एण्ड रोड’ अन्तर्गत नै चीनले नेपालसम्म रेलमार्ग विस्तार गर्न लागेको हो ।

गएको कात्तिकमा चिनियाँ प्राविधिकसहितको टोलीले केरुङ–काठमाडौं रेलमार्ग निर्माण सम्भव रहेको प्रतिवेदन नेपाल सरकारलाई बुझाइसकेको छ । सिगात्सेसम्म आइपुगेको चिनियाँ रेल दुई वर्षभित्र केरुङसम्म ल्याउने र चार वर्षसम्म काठमाडौंमा जोड्ने लक्ष्य छ । केरुङ नेपालको सीमाबाट २४ किलोमिटरको दूरीमा रहेको चिनीयाँ बजार हो । रसुवागढीबाट ५ सय किलोमिटर टाढा सिगात्सेसम्म रेलमार्ग बनिसकेको छ ।

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीका अनुसार भदौमा सम्भाव्यता अध्ययन सक्ने र डेढ वर्षमा डीपीआर तयार हुनेछ । डीपीआर सकेर निर्माण थालेको ५ वर्षमा काठमाडौं चिनियाँ रेलमार्गले जोडिनेछ । यो अहिलेदेखि झण्डै ७ वर्षको अवधि हो ।

यस्तै वीरगंजबाट काठमाडौं जोड्ने रेलमार्गका लागि एक वर्षभित्रै प्रारम्भिक खाका तयार गर्ने सहमति भएको थियो । त्यसैअनुसार टोलीले काम थालेको रेल विभागका सिनियर डिभिजनल इन्जिनियर प्रकाशभक्त उपाध्यायले बताउनुभयो । उहाँका अनुसार प्रारम्भिक खाकासँगै डीपीआर तयार गर्ने काम हुनेछ । वीरगंज–काठमाडौं रेलमार्गले जोड्ने सैद्धान्तिक सहमति भएको हो, अरु विषय टुंग्याउन बाँकी नै छन् । सयमअनुसार अरु विषय टुंगो लाग्ने भन्दै उपाध्यायले वीरगंज, काठमाडौं रेलमार्ग यति नै समयभित्र बनिसक्छ भनेर यकिन गर्न नसकिने बताउनुभयो । 

भारतभन्दा चीनको छिटो हुन सक्छ : विज्ञ

भारत पुरानै प्रविधिमा आधारित भएकाले चीनले चाहने हो भने काठमाडौंमा छिटो रेल ल्याउन सक्छ भन्नुहुन्छ, पूर्वाधार विज्ञ सूर्यराज आचार्य । ‘भारततिरको पनि हेटौडाँबाट यता पहाडी भूभाग नै हो, त्यो अप्ठेरो हिमालतिरको भन्दा केही सहज भए पनि भारत प्रविधिमा कमजोर छ’, उहाँले भन्नुभयो, ‘अनि निर्णय प्रक्रियामा पनि चीनभन्दा भारत सरकारको अलि जटिल छ । त्यसैले पनि आशावादी हुने ठाउँ चाहिँ सबैकुरा मिलेछन् भने भारतको भन्दा चीनकै रेलमार्ग र रेलको संम्भावना बढी छ ।’

चुनौती पनि त्यस्तै

छिमेकीले रेलमार्ग बनाउने गरी सहमति गरेपनि छिट्टै रेल काठमाडौं आउँछ भन्नेमा नागरिक भने त्यति धेरै आशावादी छैनन् । यसको मुख्य कारण नेपालको राजनीतिक नेतृत्वको कमजोरी र देशको आर्थिक क्षमता पनि हो । त्यस्तै भौगोलिक अवस्था पनि सहज छैन । गोरखाका सुवोध गुरुङ भन्नुहुन्छ, ‘बोलेकै भरमा आउँछ भनेर शतप्रतिशत विश्वास गर्न सकिँदैन ।’ यस्तै सिन्धुलीकी कञ्चन मगर पनि सायद आउँदैन होला भन्नुहुन्छ । 

पुराना सहमति के कति कार्यान्वयन भएका छन् र ? रेल आउँछ कि भनेर आशा गर्ने भन्ने नै धेरैको प्रश्न रहेको छ । तर निराश भैहाल्नुपर्ने अवस्था चाहिँ नरहेको विज्ञको भनाई छ । अमेरिकापछि विश्वमै सबैभन्दा बढी रेल नेटवर्क भएका देश छिमेकी भारत र चीन हुन् । सरकारको योजना र छिमेकीको प्रतिवद्धता अनुसार काम भए उत्तर र दक्षिणका रेल काठमाडौंमा भेट हुनेछन् । 
 

अन्तिम अपडेट: बैशाख ४, २०८१

मदन पौड्याल

उज्यालोमा कार्यरत मदन पौड्याल राजनीति, प्रशासन र समसामयिक विषयमा कलम चलाउनु हुन्छ। पौड्यालको भूकम्पपछिको पुनर्निर्माणमा दख्खल छ।  

 

2 Comments

  • PRANAV KUMAR TIWARI

    June 27, 2018, 7:35 p.m.

    NAUTANKI MATRA HO...

  •  0 Reply
  • Gobind Prasad Subedi

    June 26, 2018, 6:59 a.m.

    रेडियाे कार्यत्रःमहरु डाउनलाेड किन हुदैन अाजकल

  •  0 Reply

तपाईको प्रतिक्रिया