भारतका लागि नेपाली राजदूत आचार्यले भारतीय राष्ट्रपतिसमक्ष बुझाए ओहदाको प्रमाणपत्र

 फागुन २९, २०७५ बुधबार १६:१४:२० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - भारतका लागि नेपाली राजदूत निलाम्बर आचार्यले भारतीय राष्ट्रपति रामनाथ कोविन्दसमक्ष ओहदाको प्रमाणपत्र बुझाउनुभएको छ । 

बुधबार  नयाँ दिल्लीस्थित राष्ट्रपति भवनमा आयोजित एक कार्यक्रमका बीच आचार्यले ओहदाको प्रमाणपत्र बुझाउनुभएको हो । 

केपी शर्मा ओली नेतृत्वको सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गएको माघ २० गते भारतका लागि नेपाली आवासीय राजदूतमा आचार्यलाई नियुक्त गर्नुभएको थियो ।   

राजदूतमा नियुक्त आचार्य गएको फागुन १६ गते कार्यभार सम्भाल्न दिल्लीस्थित नेपाली दूतावास पुग्नुभएको थियो । राजदूत बनेर दिल्ली पुग्नुभएका आचार्यले भारतीय जनता पार्टीका नेता भगतसिंह कोशियारीलगायतका भारतीय राजनीतिज्ञहरुसँग भेट गरिसक्नुभएको छ ।  

आचार्यले आज ओहदाको प्रमाणपत्र बुझाउँदै दुई देशबीचको आन्तरिक सम्बन्ध सुदृढ पार्न रचनात्मक कार्य गर्ने बताउनुभयो । आचार्यलाई संविधानको धारा २८२ को उपधारा (१०) बमोजिम मन्त्रिपरिषदको सिफारिसमा राजदूत नियुक्त गरिएको हो ।  

मन्त्रिपरिषद्ले सिफारिस गरेको आचार्यलाई गत मंसिर २३ गते बसेको संसदीय सुनुवाइ समितिको बैठकले अनुमोदन गरेको थियो । तत्कालीन राजदूत दीपकुमार उपाध्यायले गत वर्ष प्रतिनिधिसभामा उम्मेद्वार बन्न राजीनामा दिएपछि दिल्लीस्थित नेपाली दूतावास राजदूतविहीन थियो ।  

वि.सं.२००० मा सल्यान जिल्लाको खलंगामा जन्मनुभएका आचार्यले कानुनमा स्नातक (बीएल) र मस्कोबाट पत्रकारितामा एम.ए. गर्नुभएको छ । विद्यार्थी छँदा नै वि.सं. २०१९ मा राजनीतिमा लागेका आचार्य २०४२ बाट कम्युनिष्ट आन्दोलनमा लाग्नु भएको थियो । 

आचार्य वाममोर्चाको तर्फबाट २०४७ सालको अन्तरिम सरकारमा कानुन तथा न्याय मन्त्रीसमेत बन्नु भएको थियो । त्यसपछि २०५३ देखि २०५६ सम्म आचार्य श्रीलङ्काकाको लागि नेपाली राजदूत बन्नुभयो ।

पहिलो संविधानसभामा नेपाली कांग्रेसले आचार्यलाई मनोनित कोटाबाट संविधान सभा सदस्य बनाएको थियो । आचार्य पछिल्लो समय राजनीतिमा निस्कृय हुनुहुन्थ्यो ।    

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया