सबै कुरा बुझेकाले कतार जाँदा न म्यानपावरले ठग्न पायो, न त दुःख नै पाएँ

 फागुन २९, २०७५ बुधबार १६:१५:१ | मेरो कथा मेरो भोगाई

तारामान श्रेष्ठ/ नलाङ, धादिङ ।

म २९ महिना कतार बसेर फर्किएको हुँ । म सन् २००८ मा गएको हुँ । म जाने बेलामा पनि विदेश जाँदा ठगिएकाहरुले आफ्नो दुःख सुनाएको सुनिरहन्थें । 

त्यतिबेला म काठमाण्डौंमा काम गर्दै थिएँ । काठमाण्डौंको काम र कमाइले दैनिक खर्च चल्दै थियो । बचाउन चाहिँ सकेको थिइन । त्यही भएर विदेश जाने सोचें । 
मेरो साथी कतार गएको ८ महिना भएको थियो । साथीसँग सल्लाह गरें ।

साथीले मलाई उसले काम गर्दै गरेको कम्पनीबाट केही दिनमा माग आउन लागेको जानकारी गरायो । उसले मलाई माग ल्याउने काठमाण्डौंको म्यानपवारको जानकारी पनि दिएको थियो ।उसले भनेको केही दिनमा पत्रिकामा विज्ञापन देखें ।

विज्ञापनमा त्यो कामका लागि म्यानपवार खर्च भन्दै २५ हजार रुपैयाँ लाग्ने उल्लेख थियो । हुन त सरकारले त्यतिबेला फ्रि भिसा फ्रि टिकट लागु गरिसकेको थियो । तर पनि म्यानपावरले कार्यालय खर्च भन्दै २५ हजार मागेको थियो । 

मैले त्यही पैसामा जान तयार भएर अन्तर्वार्ता दिएँ । पास भएपछि म्यानपावरले मसँग पत्रिकामा लेखिएको भन्दा ५ हजार रुपैयाँ बढी लियो । साथीले केही धेरै किनमेल नगर्नु भनेकाले मैले जम्मा ५ हजार जतिको मात्रै किनमेल गरें । यसरी ३५ हजार मात्रै खर्च गरेर म कतार पुगें । 

साथी भएकाले उड्नुभन्दा अघि नै मैले सबै कुरा बुझेको थिएँ । त्यसैले म्यानपावरको भनेकै काम पाएँ अनि तलब पनि ८ सय रियाल नै पाएँ । तर भाषा सिकेको थिइनँ । मलाई अङ्ग्रेजी आउँदैनथ्यो अनि हिन्दी पनि राम्रो थिएन । ल्याण्ड मार्क कम्पनीमा म सेल्स म्यान हेल्परको काम गर्थें । 

काम र तलब राम्रै थियो तर अङ्ग्रेजी र हिन्दी दुवै भाषा नआउँदा सुरुका तीन/चार महिना मलाई धेरै समस्या भयो । कुनै कुनै बेला एउटा सामान भन्दा अर्के सामान पनि पु¥याएँछु । त्यतिबेला आफैंलाई अप्ठ्यारो लाग्थ्यो । त्यतिबेला पनि साथीहरुले मलाई धेरै नै सहयोग गरे । 

हामी बस्ने ठाउँ कतारमा रहेको नेपाली दूतावासको छेउमै थियो । त्यसैले त्यहाँ समस्या परेर आउने नेपालीहरुसँग भेट हुन्थ्यो । तीन÷चार जना आफ्नो समस्या लिएर नआएको दिनै हुँदैनथ्यो । उनीहरुसँग कुरा गर्दा धेरैले भनेको काम र तलब नपाएका नै गुनासो गर्थे । 

अनि त्यतिबेला मलाई धन्न बुझेर मात्रै आएँछु जस्तो लाग्थ्यो । त्यतिबेला मात्रै होइन उनीहरुले ७/८ सय रियाल तलब पाउने कामका लागि डेढ÷दुई लाख रुपैयाँ तिरेर आएको पनि सुनाउथे । 

२९ महिना काम गर्दा मैले कुनै समस्या भोग्नु परेन । त्यसको एउटै मात्र कारण म त्यो कम्पनी र त्यहाँ पाइने सेवा सुविधाका बारेमा बुझेर गएको थिएँ । कतार पुगेको १३ महिनामा घरमा समस्या पर्दा बिदा पनि पाएँ । 

अनि २९ महिनापछि घरमा समस्या पर्‍यो अब फर्किन्छु भन्दा पनि कम्पनीले बिदा दियो । त्यसैले म त विदेश जाने तयारीमा रहेका सबैलाई बरु ४/५ महिना ढिलो होस तर बुझेर मात्रै जानुहोस् भन्छु ।

चाहिने कुरा बुझ्नुभयो भने मलाई जसरी नै म्यानपावरले ठग्न पाउँदैन अनि विदेशमा पुगिसकेपछि पनि दुःख पाउने सम्भावना कम हुन्छ । हतारमा गएर त्यहाँ पुगेर समस्यामा पर्नुभन्दा केही समय ढिलो भएपनि त्यहाँ राम्रो भइदियो भने मात्रै तपाईंहरुको विदेश बसाइ राम्रो र फलदायी हुन्छ । 
 

अन्तिम अपडेट: चैत १, २०८०

तपाईको प्रतिक्रिया