सरकार र सीके राउतबीचको सहमतिबारे स्पष्ट पार्न नेपाली कांग्रेसकाे माग

 फागुन २९, २०७५ बुधबार १८:६:४१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सरकार र सीके राउत नेतृत्वको स्वतन्त्र मधेश गठबन्धनबीच भएको सहमतिबारे स्पष्ट पार्न माग गरेको छ । 

नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सरकार र सीके राउतबीच भएको ११ बुँदे सहमतिको साझा व्याख्या दुवै पक्षले गर्नुपर्ने माग गर्नु भएको हो । बुधबार काठमाण्डाैमा पत्रकार सम्मेलन गरी उहाँले सम्झौताको बुँदा नम्बर-२ लाई लिएर सरकारले जनअभिमतको कुरा गर्ने तर सिके राउतले जनमत संग्रहको कुरा गर्ने गरेको उल्लेख गर्दै त्यसको साझा व्याख्या गर्न माग गर्नुपरेको पनि स्पष्ट पार्नुभयो ।

बुँदा नम्बर-२ मा राउतले भनेजस्तै जनमत संग्रह गर्ने कुरा उल्लेख गरिएको भने हो त्यो नेपाली कांग्रेसलाई मान्य नहुने स्पष्ट पार्दै प्रवक्ता शर्माले त्यसलाई तत्काल सच्याउन पनि सरकारको गम्भीर ध्यानाकर्षण गराउनु भयो ।

प्रवक्ता शर्माले मुलुकमा शान्ति सुरक्षा कायम गर्ने मामलामा सरकारलाई आफ्नो पार्टीको सधैं साथ रहने पनि स्पष्ट पार्नुभयो । उहाँले नेत्र बिक्रम चन्द नेतृत्वको नेकपालाई सम्वादकै माध्यमबाट सहमतिमा ल्याउन पनि सरकारलाई सुझाव दिनुभयो ।

संघीय लोकतान्त्रिक गणतन्त्र ल्याउन भूमिका निर्वाह गरेका चन्दलाई वार्ताकै माध्यमबाट सहमतिमा ल्याउन उपयुक्त हुने कांग्रेसको मान्यता रहेको प्रवक्ता शर्माको भनाइ छ ।

प्रवक्ता शर्माले मुलुकको शान्ति सुरक्षामाथि खलल् पुर्‍याउने कुनै पनि गतिविधि आफ्नो पार्टीलाई सह्य नहुने स्पष्ट पार्नुभयो ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया