मुख्यमन्त्री कप: महिला क्रिकेटमा २३२ रनकाे लक्ष्य पछ्याउँदा कर्णाली प्रदेश ४ रनमा अलआउट

 फागुन २९, २०७५ बुधबार १८:५८:५८ | निर्मला खडायत
unn.prixa.net

कैलाली - मुख्यमन्त्री कप अन्तर प्रदेश खेलकुद प्रतियोगिता अन्तरगत महिला क्रिकेटमा सुदूरपश्चिमको महिला टिमले ऐतिहासिक जित हात पारेको छ ।

बुधबार भएको खेलमा कर्णाली प्रदेशलाई ४ रनमा अलआउट गर्दै सुदूरपश्चिमको महिला टिमले ऐतिहासिक जित हात पारेको हो । टस जितेर ब्याटिङ गरेको सुदूरपश्चिम प्रदेशले निर्धारित १५ ओभरमा २ सय ३१ रन बनायो । २ सय ३२ रनको लक्ष्य पछ्याएको कर्णाली प्रदेश ४ रनमै अलआउट भएको हो ।

कर्णाली प्रदेशका लागि लक्ष्मी पुरीले १ रन बनाइन् भने ३ रन अतिरिक्त पाएको थियो ।

दोस्रो खेलमा प्रदेश नम्बर १ ले प्रदेश नम्बर ५ लाई ७ विकेटले हराएको छ । प्रदेश नम्बर ५ ले टस जितेर पहिले ब्याटिङ गर्दै २० ओभरमा ९ विकेटकाे क्षतिमा १०७ रन बनायो । १०८ रनको विजय लक्ष्य पछ्याएको प्रदेश नम्बर १ ले निर्धारित ओभर सकिन दुई बल बाँकी रहँदै लक्ष्य पूरा गर्यो । 

पुरुष क्रिकेटमा पनि सुदुरपश्चिम प्रदेशले विजयी सुरुवात गरेको छ । आज भएको पहिलो खेलमा कर्णाली प्रदेशलाई ८ विकेटले हराउँदै सुदुरपश्चिमले विजयी सुरुवात गरेको हो । टस जितेर पहिले व्याटिङ गर्दै कर्णालीले २० ओभरमा ९ विकेट क्षतिमा ९४ रन बनायो । ९५ रनको विजय लक्ष्य सुदुरपश्चिमले १४ दशमलव १ ओभरमा २ विकेट गुमाएर विजय लक्ष्य पुरा गर्‍यो ।

पुरुष क्रिकेटमै आज भएको दोस्रो खेलमा प्रदेश नम्बर १ ले प्रदेश नम्बर ५ लाई ५ रनले हराएको छ । फाप्ला मैदानमा टस जितेर पहिले व्याटिङ गर्दै प्रदेश नम्बर १ ले २० ओभरमा ६ विकेट गुमाउँदै ११५ रन बनायो । ११६ रनको विजय लक्ष्य पछ्याएको प्रदेश नम्बर ५ ले निर्धारित २० ओभरमा ९ विकेट क्षतिमा ११० रन मात्रै बनाउन सक्यो । 

पुरुष फुटबल प्रतियोगिता अन्तर्गत आज भएका खेलमा प्रदेश नम्बर २ र प्रदेश नम्बर १ विजयी भएका छन् । धनगढी रंगशालामा भएको दोस्रो खेलमा प्रदेश नम्बर २ ले गण्डकी प्रदेशलाई ३–१ ले हरायो । प्रदेश नम्बर २ का लागि  रितीक खड्काले दुई र गंगावहादुर आलेले एक गोल गरे । खड्काले ८ मिनेट र ७६ मिनेटमा गोल गरेका हुन् ।

आलेले १३ मिनेटमा एक गोल गरेका हुन् । गण्डकीका लागि अजिज मियाले एक गोल फर्काए । उनले ६९ औं मिनेटमा गोल गरेका हुन् । आजको पहिलो खेलमा भने प्रदेश नम्बर १ ले प्रदेश नम्बर ५ लाई १–० ले गोल गरे । प्रदेश १ का लागि विदुर रिजालले एक मात्रै निर्णायक गोल गरे । खेलको ६५ औं मिनेटमा गरेको गोल नै निर्णायक भयो । 

अन्तिम अपडेट: बैशाख ३, २०८१

निर्मला खडायत

खडायत कैलालीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया