विमानस्थलमा ‘रिफ्युलर’ थप्ने तयारी

 फागुन ३०, २०७५ बिहिबार ६:२६:१२ | रासस

काठमाण्डाै – जहाजलाई इन्धन भर्न लामो समयसम्म पालो कुर्नुपर्ने अवस्था अन्त्य गर्न नेपाल आयल निगमले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ‘रिफ्युलर’ थप्ने प्रक्रिया थालेको छ । 

विमानस्थलमा आन्तरिक र अन्तर्राष्ट्रिय उडान सङ्ख्या र चाप थपिँदै गएकाले रिफ्युलरको सङ्ख्या थप्न खरीद कार्य अघि बढेको निगमले जनाएको छ । रिफ्युलर नहुँदा जहाजले इन्धन भर्न झण्डै एक घण्टासम्म पालो कुर्नुपर्ने अवस्था छ । रिफ्युलर भनेको हवाई इन्धनलाई प्युरिफाइड गरी जहाजमा इन्धन भर्न प्रयोग गर्ने सवारी साधन हो । 

निगमको इञ्जिनीयरिङ विभाग प्रमुख राजीवराज शर्माले देशभरकै विमानस्थलमा जहाजमा इन्धन भर्ने रिफ्युलरको अभाव रहेकाले थप्नका लागि आवश्यक प्रक्रिया थालेको बताउनुभयो ।

पहिलो चरणमा २७ किलोलिटर क्षमताका चार वटा रिफ्युलर खरीद गर्न बोलपत्र आह्वान भइसकेको र प्रक्रिया पूरा गरेर नेपाल ल्याउन झण्डै १० महिना लाग्ने जनाइएको छ । विसं २०६९ देखि नयाँ रिफ्युलर नेपालमा आएको छैन । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जीर्ण अवस्थाका आठ वटा रिफ्युलर छन् । 

अन्तिम अपडेट: चैत २९, २०८०

तपाईको प्रतिक्रिया