प्रधानन्यायाधीश जबराद्वारा न्यायाधीशलाई लिखित निर्देशन

 फागुन ३०, २०७५ बिहिबार ६:३७:९ | रासस
unn.prixa.net

काठमाण्डाै – प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले न्यायपालिकाप्रति स्वच्छ, निष्पक्ष, छिटो, गुणस्तरीय र प्रभावकारी न्याय सम्पादन गर्न देशैभरका न्यायाधीशलाई लिखित निर्देशन दिनुभएको छ ।

प्रधानन्यायाधीश राणाले बुधबार उच्च अदालतका मुख्य न्यायाधीशमार्फत देशैभरका न्यायाधीलाई न्यायपालिकाप्रति प्रभावकारी न्याय सम्पादनको अपेक्षा पूरा गर्न सबैको उच्चस्तरको लगन, मिहिनेत, क्षमता, इमान्दारी र जवाफदेहिताका साथ कार्य गर्न निर्देशन लिखित निर्देशन दिनुभएको हो ।

लिखित निर्देशनमा न्यायपालिकाप्रतिको आस्था अभिवृद्धि गर्न र यसको साख कायम गर्न थप संवेदनशीलताका साथ आफ्नो भूमिका निर्वाह गर्नुपर्ने, अदालतमा विचौलियाको कारण सिर्जना हुन सक्ने समस्या र विचलन रोक्न त्यस्ता व्यक्तिहरुको पहिचान गरी अदालतमा प्रवेश रोक लगाउने कार्य प्रभावकारी रुपमा गर्न भनिएको छ ।

न्यायिक काम कारवाहीको अनुगमन र नियमनलाई प्रभावकारी बनाई न्यायिक सुशासनको अभिवृद्धिमा ध्यान दिनुपर्ने, मुख्यन्यायाधीशले आफ्नो र मातहतका अदालतका न्यायाधीश र कर्मचारीको आचरण, अनुशासनको पालना गरे÷नगरेको तथा न्यायिक काम कारवाहीमा अनियमितता भए÷नभएको निरन्तर अनुगमन गर्न भनिएको छ ।

निर्देशनमा मूल्याङ्कन र निगरानी गरी आचरण र अनुशासनको पालना नगरेको वा अनियमितता वा विचलनजन्य कार्य गरेको पाइएमा आफूले कारवाही गर्न सक्ने हदसम्म कारवाही गरी सोको जानकारी गराउने र अन्यको हकमा सिफारिशसहितको प्रतिवेदन पेश भनिएको छ ।

उमेरहदका कारणबाट अवकाश हुने न्यायाधीशलाई संविधान र कानूनले अवकाश प्राप्त गर्ने अन्तिम अवधिसम्म इजलासमा बसी मुद्दाको सुनुवाइ र फैसला गर्न कुनै किसिमको बन्देज नलगाएको भए पनि अवकाश हुने अन्तिम दिनसम्म न्यायाधीशले इजलासमा बसी मुद्दाको नियमित सुनुवाइ र फैसला गर्ने कार्य गर्नुभन्दा एक महीनाअगाडि देखि नै आफूले गरेका फैसला वा आदेशहरु तयार गर्ने र अवकाशको तयारी तथा व्यवस्थापनसँग सम्बन्धित अन्य कार्य गर्नु बढाउनु व्यावहारिक र उपयुक्त हुने उल्लेख छ ।

न्यायपालिकामा कार्यरत न्यायाधीश तथा कर्मचारीले सामाजिक सञ्जालहरुमा अदालतसम्बन्धी विषय राख्दा न्यायपालिकाको शाख, न्यायपालिकाप्रतिको आस्था तथा न्याय सम्पादनमा पर्ने प्रभावकाबारे ध्यान दिन भनिएको छ । न्यायाधीश तथा कर्मचारीको आचारसंहिता, अनुशासनसँग समेत सम्बन्धित रहेको हुँदा गम्भीरता र संवेदनशील रहन र आवश्यक काम कारवाहीको अनुगमन र नियमनसमेत गर्न निर्देशन दिनुभएको छ । 

 

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया