रोजगार संयोजकको लागि पुनः आवेदन खुल्यो : पदपूर्ति भैसकेको ३६ ठाउँमा पनि खाली

 फागुन ३०, २०७५ बिहिबार १०:२४:३६ | सन्जिता देवकोटा

काठमाण्डौ – सरकारले २ सय ६८ जना रोजगार संयोजकको पदपूर्ति गर्न पुनःआवेदन माग गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गतको प्रधानमन्त्री रोजगार कार्यक्रमले रिक्त स्थानको लागि आवेदन माग गरेको हो ।

बिहीबार बिहान १० बजेदेखि चैत ९ गते बेलुकी ५ बजेसम्म आवेदन दिन सकिनेछ । यसका लागि प्रधानमन्त्री रोजगार कार्यक्रमको वेभसाइट www.pmep.gov.np बाट अनलाइन फारम भर्न सकिनेछ । 

रिक्त रहेका स्थानीय तहमा २ सय ४९ जना शाखा अधिकृत र १९ नायब सुब्बास्तरका रोजगार संयोजकको पदपूर्ति गर्न लागिएको मन्त्रालयले जनाएको छ ।

यसअन्तर्गत प्रदेश नं १ मा ६६ शाखा अधिकृत र पाँच नासु, प्रदेश नं २ मा ४५ शाखा अधिकृत, प्रदेश नं ३ मा ३१ शाखा अधिकृत र एक नासु, गण्डकी प्रदेशमा १४ शाखा अधिकृत र एक नासु, कर्णाली प्रदेशमा ४३ अधिकृत र ११ नासु तथा सुदूरपश्चिम प्रदेशमा ५० अधिकृत र एक नासु पदको पदपूर्ति गरिनेछ ।

यसअघि उत्तीर्ण भएकाको ठाउँमा पनि पद खाली

यसअघि ७ सय ५३ स्थानीय तहका लागि रोजगार संयोजकको आवेदन माग गरिएकोमा ५२१ जना पास भएका थिए । यो हिसाबले बाँकी २३२ स्थानीय तहको लागि मात्रै पुनः आवेदन माग गर्नुपर्ने थियो । तर मन्त्रालयले योभन्दा ३६ पद बढी अर्थात २६८ पदको लागि पुनः आवेदन माग गरेको हो ।

‘यसअघि उत्तीर्ण भएका केही उम्मेदवारले विविध कारण देखाएर काम नगर्ने भनेपछि थप ३६ ठाउँ पनि रिक्त हुन आएको हो’ प्रधानमन्त्री रोजगार कार्यक्रमका संयोजक प्रकाश दाहालले उज्यालो अनलाइनसँग भन्नुभयो ।

उहाँका अनुसार पुनः आवेदन दिने अन्तिम मिति चैत ९ गतेसम्म अरु पद पनि खाली भएमा अब आउने आवेदनबाटै पदपूर्ति हुनेछ ।

रोजगार संयोजकका लागि न्यूनतम योग्यता 

राजपत्रांकित तृतीय श्रेणी (शाखा अधिकृत सरह) को रोजगार संयोजक पदका लागि नेपाल सरकारबाट मान्यताप्राप्त शिक्षण संस्थाबाट कम्तीमा स्नातक तह वा सो सरह उत्तीर्ण भएको हुनु पर्नेछ ।

यस्तै राजपत्र अनंकित प्रथम श्रेणी (नायब सुब्बा सरह) को रोजगार संयोजक पदका लागि कम्तीमा प्रवीणता प्रमाण पत्र तह वा सो सरह उत्तीर्ण गरेको हुनु पर्नेछ ।

दरखास्त दिने अन्तिम मितिमा २१ वर्ष पूरा भई ४५ वर्ष ननाघेको तथा भविष्यमा सरकारी सेवाका लागि अयोग्य ठहरिने गरी कुनै कारवाही नभएको हुनुपर्ने मन्त्रालयले जनाएको छ ।

यस्तै कम्प्युटर सम्बन्धी देवनागरी र अंग्रेजीमा दक्षतापूर्वक टाइपिङ्ग गर्न सक्ने, Computer, Printer, Scanner, Multimedianufot उपकरणहरुको प्रयोग गर्न सक्ने सीप भएको, MS-Office Package (Word, Excel, Access, Power point आदि) को प्रयोग गर्न सक्ने क्षमता भएको, इमेल इन्टरनेट सम्बन्धी आधारभूत ज्ञान भएको, व्यवस्थापन सूचना प्रणाली(MIS)सम्बन्धी आधारभूत ज्ञान भएको हुनुपर्ने पनि मन्त्रालयले स्पष्ट पारेको छ ।

अनलाइन दरखास्त दिंदा चाहिने कागजातहरु :

आवेदन अनलाइनबाटै दिन सकिन्छ । यसका लागि नागरिकता प्रमाणपत्र (दुबैपट्टि देखिने), पासपोर्ट साइजको फोटो (हालसालै खिचेको), न्यूनतम शैक्षिक योग्यताको लब्धांकपत्र, न्यूनतम शैक्षिक योग्यताभन्दा एक तह माथिल्लो शैक्षिक योग्यताको लब्धांकपत्र (उपलव्ध भएमा) र कम्तीमा दुई वर्ष काम गरेक अनुभवको प्रमाणपत्र (उपलव्ध भएमा) पेश गर्नुपर्छ ।

रोजगार संयोजकले स्थानीय तहमा रहेका बेरोजगार व्यक्तिको तथ्याङक सङ्कलन तथा विश्लेषण गरी बेरोजगारको सूची अद्यावधिक गर्ने, सूचीकृत बेरोजगार व्यक्तिलाई परिचयपत्र प्रदान गर्ने छन् ।

यस्तै रोजगारदाताबाट माग भए बमोजिम सूचीकृत बेरोजगार व्यक्तिलाई रोजगारीका लागि काममा जान सूचित गर्ने, बेरोजगारको ज्ञान, सीप, अनुभव, क्षमता र बजारको मागका आधारमा आवश्यक पर्ने सीप विकास तालीमको पहिचान गरी सम्बन्धित तालीम केन्द्रमा सिफारिस गर्नेछन् ।

बेरोजगार परिवारलाई प्रदान गर्ने निर्वाह भत्ता वितरण गर्ने र रोजगारसम्बन्धी सरोकारवालाई सहजीकरण गर्नेछन् ।

अन्तिम अपडेट: चैत ३, २०८०

सन्जिता देवकोटा

उज्यालोमा कार्यरत सन्जिता देवकोटा वैदेशिक रोजगार र नेपाली महिलाका बिषयमा कलम चलाउनुहुन्छ ।  

1 Comments

  • Arjun bhandari

    March 14, 2019, 11:15 a.m.

    यो कामको जिम्मा लिने मान्छे अलि पर्फेक्ट हुनुपर्छ/ सरकारी ढुकुटी सकिन्छ नत्र लुटि लुटि / कामको अनुभव भएको मान्छे चाहिन्छ जस्तो लाग्छ यो जिम्मेवारी वहन गर्न , नभए कागजपत्र जताततै अलपत्र नहोला भन्न सकिन्न /

  •  0 Reply

तपाईको प्रतिक्रिया