पासपोर्टको सिफारिसका लागि रेडबुल घुस खाने कर्मचारी (भिडियोसहित)

 असार ११, २०७५ सोमबार १६:५७:४८ | शैलेन्द्र महतो

धनुषा – जिल्ला प्रशासन कार्यालय जिल्ला भरिका सम्पूर्ण सरकारी निकायमाथि नियमन गर्ने निकाय हो ।

कतै कुनै कर्मचारी वा सर्वसाधारणले गैरकानुनी काम अथवा भ्रष्टाचार गरेको खण्डमा जिल्ला प्रशासन कार्यालयले नै कारबाही गर्ने वा कारबाहीका लागि माथिल्लो निकायमा सिफारिस गर्दछ । जहाँ प्रमुख जिल्ला अधिकारी नै स्वयम् बस्छन् । तर केही वर्ष यता जिल्ला प्रशासन कार्यालय धनुषामा नै खुलेआम घुसखोरी बढेको छ ।
 
नागरिकता, राहदानी, मधेशी प्रमाणित, संघसंस्था दर्तालगायतको काममा बहानाबाजी गरी जिल्ला प्रशासन कार्यालय धनुषामा विभिन्न फाँटका कर्मचारी सर्वसाधारण सेवाग्राहीसँग घुस लिएर मात्र काम गर्ने गरेको व्यापक जनगुनासो छ । तर ती कर्मचारीहरुमाथि कारबाही नहुँदा जिल्ला प्रशासनका कार्यालयका कर्मचारीहरुको उदण्डता बढ्दै गएको छ । उनीहरु घुस खान पल्किसकेका छन् । त्यो दलाल मार्फत होस् वा प्रत्यक्ष रुपमा सेवाग्राहीबाट ।

यस्तै प्रमाणसहितको एउटा भिडियो सार्वजनिक भएको छ । जसमा टेबुलमै खुलेआम सेवाग्राहीबाट घुस नलिई काम नगर्ने एक कर्मचारीको भिडियो बाहिर आएको छ । उज्यालो अनलाइनलाई प्राप्त एउटा भिडियोबाट सेवाग्राहीको कामको लागि रेडबुल किनेर ल्याउन लगाएको खुलेको छ । 

रेडबुल नपिई काममा जाँगर नचलाउने कर्मचारी हुन् जिल्ला प्रशासन कार्यालय धनुषाको राहदानी फाँटका नायब सुब्बा सुक्टा पंजियार । उनले पासपोर्टको काम गराउन गएका श्रवण महतो नाम गरेका सेवाग्राहीलाई पाँचवटा रेडबुल ल्याउन लगाई मात्रै काम गर्छन् । जिल्ला प्रशसन कार्यालयको परिसरभित्र रहेको तुल्सीको पसलबाट पाँचवटा रेडबुल लिएर आउ भन्दै नासु पजियारले जोडले भनेको यस भिडियोमा प्रष्टै सुनिन्छ ।  

श्रवणले तीनवटा मात्र रेडबुल ल्याएर दिन्छन् । तर ती नासु र भित्रका अन्य एक कर्मचारीले पाँच जनामा तीनवटा रेडबुलले कसरी पुग्छ भन्दै प्रश्न गर्छन् । युवकले ‘तीनवटैमा गरिदिनुस् न सर’ भन्दै आग्रह गर्छन् । तर नासु पजियारले ‘हुँदैन, दुइटा अझै ल्याउ’ भन्दै हर्कार्दै पुनः ती सेवाग्राही श्रवणलाई रेडबुल लिन पठाउँछन् । त्यसअघि नै एकसेवाग्राहीलाई नासु पजियारले चारवटा चिया र एउटा रजनीगन्धा लिएर आउन अह्राउँछन् ।  
 
यस विषयमा रेडबुल लिएर मात्र काम गर्ने नासु पजियारसँग प्रतिक्रिया लिँदा उनले हाँस्दै ‘आज बाहिर छु । भोलि भेटेर कुरा गर्छु’ भन्दै अरु केही बोल्न मानेन् ।

यस विषयमा धनुषाका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद पराजुलीले रेडबुल खाने नासु पजियारलाई बोलाएर सोधपुछ गरी मात्र केही भन्न सक्ने प्रतिक्रया दिनुभयो ।
 
काम गरेबापत रेडबुल टेबलमै ल्याउन लगाई खाने भिडियो एउटा उदाहरण मात्र हो । जिल्ला प्रशासन कार्यालय धनुषामा दैनिक दर्जनौँ सर्वसाधारण कर्मचारीबाट प्रताडित भएका छन् । सेवाग्राहीलाई जिल्ला प्रशासनका कर्मचारीहरु मान्छे नै गन्दैनन् । सर्वसाधारणहरु झ्याल बाहिरबाट कामका लागि बिलौना गरिरहन्छन् । तर भित्रका कर्मचारी सेवाग्राहीलाई भन्दा दलाललाई प्राथमिकता दिन्छन् । उनीहरु दलालले ल्याउने काममा नै बढी व्यस्त हुन्छन् ।  

एक घण्टामा हुने कामका लागि सेवाग्राही हप्तौँसम्म धाउन बाध्य छन् । अझ केही न केही घुष नदिई कामै नबन्ने सेवाग्राहीको गुनासो छ । गर्मीको मौसम छ सुब्बासाबहरु रेडबुल वा चिसो नखाई त एउटा सिफारिससम्म बनाउन नसक्ने अवस्थामा हुनुहुन्छ ।

 

अन्तिम अपडेट: चैत १३, २०८०

शैलेन्द्र महतो

शैलेन्द्र महतो उज्यालोका धनुषा सहकर्मी हनुहुन्थ्यो। 

2 Comments

  • RASHINDRA YADAV

    June 29, 2018, 8:21 a.m.

    yasto karmchari lai na hatae desh barbad hunchh

  •  0 Reply
  • Pinkal kumar paswan

    June 27, 2018, 8:39 p.m.

    Esto karamchari ko karan le hamro desh barbadh vayeko ho .yesto karamchari lai hataunu parxa .yesto karamchai ko video banaunai lai derai derai dhanabadh gardai xu..

  •  0 Reply

तपाईको प्रतिक्रिया