प्रहरीको ‘एक टोल, एक घण्टा’ अपरेशन : एक लाख सात हजार लिटर घरेलु रक्सी नष्ट

 फागुन ३०, २०७५ बिहिबार १४:३६:३४ | राधेश्याम खतिवडा
unn.prixa.net

चितवन – इलाका प्रहरी कार्यालय रत्ननगरले ‘एक टोल एक घण्टा अपरेशन’ सञ्चालन गरेको छ ।

प्रहरीको टोली टोलमा पुगेर एक घण्टाको समयमा अवैध वस्तु नियन्त्रण लिने, सुरक्षाका विषयमा सचेतनासमेत दिने भएकाले यसलाई एक टोल एक घण्टा अपरेशनको नाम दिइएको हो । 

जिल्लाको पूर्वी क्षेत्रमा रहेका राप्ती, खैरहनी, कालिका र रत्ननगर गरी नगरपालिका विभिन्न क्षेत्रमा सञ्चालन गरेको अपरेशनको क्रममा एक लाख सात हजार लिटर घरेलु रक्सी बरामद गरिएको इलाका प्रहरी कार्यालय रत्ननगरका प्रहरी नायव उपरीक्षक(डीएसपी) दयानिधि ज्ञवालीले बताउनुभयो ।

जिल्लाको पूर्वी क्षेत्रका चारवटा नगरपालिकाका विभिन्न टोलबाट नियन्त्रणमा लिएको ठूलो परिणामको घरेलु मदिरालाई स्थानीय जनप्रतिनिधी,समाजसेवी र पत्रकारहरुको रोहवरमा बिहीबार प्रहरीले नष्ट गरेको छ । 

प्रहरी समुदाय साझेदारी र चितवन प्रहरीको संयुक्त रुपमा सुरु गरेको अपरेशनको क्रममा २७ वटा टोलमा अपरेशन गरिएको ज्ञवालीले बताउनुभयो । प्रहरी नायव उपरीक्षकको नेतृत्वमा प्रहरी निरीक्षक ३ जना समेत रहने गरी हरेक दिन ६० जनाको टोलीले टोल टोलमा पुगेर अपरेशन गरिएको उहाँले बताउनुभयो । 

फागुन २३ गते देखि २९ गते सम्म सञ्चालन गरिएको अपरेशनको क्रममा गुण्डागर्दी, घरेलु मदिरा, लागु औषध, जुवातास, विकृत यौन क्रियाकलाप, ट्राफिक कारबाही र सचेतना, विभिन्न प्रकारका तस्करी र क्यामेरा बोर्डका साथै लुँडो खेललाई समेत निगरानीमा राखिएको ज्ञवालीले बताउनुभयो । 

अपरेशनका क्रममा शंकास्पद गतिविधिमा संलग्न १३ जनालाई पक्राउ गरिएको छ । अवैध तथा नियमविपरीत प्रयोगमा आएका ११ वटा टिप्पर ट्रयाक्टरलाई नियन्त्रणमा लिएको जानकारी दिँदै ज्ञवालीले १४२ सावारी चालकलाई ट्राफिक कारबाही गरिएको जानकारी दिनुभयो । अपरेशनकै क्रममा ३ सयभन्दा बढी सवारी साधनमा राखिएको झल्लर, स्टिकर निकालिएको पनि उहाँले बताउनुभयो । 

स्थानीय समुदायसँग सहकार्य गरी ग्रामिण क्षेत्रका बस्तीमा गरिएको अपरेशनले समाजमा अपराध नियन्त्रणमा सहयोग पुगेको बताउँदै डीएसपी ज्ञवालीले पहिलो चरणमा एक हप्ताका लागि अपरेशन गरिएको भए पनि स्थानीय समुदायको चासो र माग बढेकाले यसलाई निरन्तरता दिने बताउनुभयो । 

अन्तिम अपडेट: चैत २९, २०८०

राधेश्याम खतिवडा

राधेश्याम खतिवडा उज्यालोका चितवन सहकर्मी र नेपाल पत्रकार महासंघ चितवन शाखाका पूर्व अध्यक्ष हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया