क्रिकेट रंगशाला निर्माणका लागि फिल्डमै उत्रिए धुर्मुस–सुन्तली

 फागुन ३०, २०७५ बिहिबार १५:५९:५५ | उज्यालो सहकर्मी
unn.prixa.net

चितवन – यतिबेला धुर्मुस–सुन्तली क्रिकेट रंगशालाको काममा व्यस्त छन् । धुर्मुस–सुन्तली फाउण्डेसनले बनाउँदै गरेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निमार्णस्थलमा मंगलबार र बुधबार धुर्मुस–सुन्तली श्रमदानमा व्यस्त भए । 

बालुवा बोक्ने  मसला बनाउने, जस्तापाता बोक्दा उनीहरु हौसिएका थिए ।  भरतपुर महानगरपालिका वडा नम्बर १५ मा निर्माणाधीन रंगशाला बनाउने चटारोले हास्यकलाकार सिताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ लाई भ्याइनभ्याई छ । उनीहरुले सामान भण्डार गर्ने भवन, स्टोर र कर्मचारीहरुका लागि आवास निर्माणको काम गरेका थिए ।

टेलिभिजनको पर्दामा देखिएको मनपर्ने कलाकार धुर्मुस सुन्तली सँगै सिमेन्टको मसला बनाउने र बोक्ने उनीहरू दंग पनि परिरहेका थिए । निमार्णस्थल पुगेका धुर्मुस देखेर कामदार अचम्मित बने ।

निर्माणस्थललाई जस्ताले घेरिएको छ । अहिले प्रारम्भिक चरणको काम भैरहेको छ  । उनीहरुले स्थानीयलाई रंगशाला निमार्ण सबै नेपालीको सपना भएको भन्दै आफ्नो स्थानबाट सबै लाग्न आग्रह पनि गरे । आर्थिक सहयोग गर्न नसके पनि श्रमदान गर्न सकिने भन्दै स्थानीयलाई सक्रियता बढाउन आग्रह गरेका उनीहरु आफै कार्यक्षेत्रमा खटिएर श्रमदान समेत गरिरहेका थिए । भरतपुर महानगरपालिका–१५ स्थित शान्तिचोकमा रंगशाला निमार्ण गर्न लागिएको छ । कट्टेल र घिमिरे दुवै जना एकै ठाउँमा बसेर स्थानीयहरुसँग भेटघाट पनि गरिरहेका थिए ।

निमार्णस्थलमा विभिन्न संघसंस्थाले श्रमदानसमेत गर्न थालेका छन् । रंगशालाको गुरूयोजना र डिजाइनको काम अगाडि बढेको धुर्मुस–सुन्तली फाउण्डेशनका अध्यक्ष कट्टेलले बताए । उनका अनुसार अहिलेसम्म साढे पाँच करोड सहयोग संकलन भएको छ ।

तीन करोड नेपालीहरुको सहयोगले नै रंगशाला निर्माण हुने भन्दै सबैले आ–आफ्नो स्थानबाट सहयोग गर्न धुर्मुसले आग्रह गरे । ‘एउटा साधारण व्यक्तिले देखेको सपना हो यो, त्यसैले सबै मिलेर सपना साकार पार्ने हो’, उनले भने, ‘यो देशको विकासका लागि सबै एक हुने समय आएको छ । अब देश बनाउने समय हो राजनैतिक मुद्धाका आन्दोलन सकिएपछि अब विकासको आन्दोलनमा सबै सहभागी हुन जरुरी छ ।’ 


 

अन्तिम अपडेट: चैत २७, २०८०

तपाईको प्रतिक्रिया