स्वास्थ्य क्षेत्रमा कार्यरत व्यक्तिहरुको प्रतिबद्धता : रक्सी, चुरोट र सुर्तीजन्य पदार्थ खाँदैनौँ

 फागुन ३०, २०७५ बिहिबार १९:१०:५७ | श्यामशितल परियार
unn.prixa.net

लमजुङ – स्वास्थ्य क्षेत्रका सरोकारवाला निकायका प्रमुख तथा प्रतिनिधिले रक्सी, चुरोट र सुर्तीजन्य पदार्थ नखाने प्रतिबद्धता जनाएका छन् ।

स्वास्थ्य कार्यालय लमजुङले बिहीबार गरेको एउटा बैठकमा उनीहरुले कार्यालयभित्र र कार्यालयबाहिर कुनै पनि समय रक्सी, चुरोट र सुर्तीजन्य पदार्थ नखाने प्रतिबद्धता जनाएका हुन् । 

प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकालले उपस्थित सबैलाई प्रतिबद्धता पत्र पढेर सपथ खुवाउनुभएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्धारा प्रकाशित ‘मेरो वर्ष’ पुस्तिकामा लेखिएको मेरो ५ प्रतिबद्धता, स्वस्थ जीवनको आवश्यकता शीर्षकको ५ वटा प्रतिबद्धताको पाठ पढेर प्रजिअले सहभागीलाई सपथ खुवाउनुभएको हो । 

‘म रक्सी, चुरोट र सुर्तीजन्य पदार्थ खान्नँ’, ‘म नियमित व्यायाम गर्छु’, ‘म स्वस्थ र पोषिलो खाना खान्छु’, ‘म नियमित स्वास्थ्य परीक्षण गराउँछु’, र ‘म मेरो परिवार र समुदायको स्वास्थ्यप्रति सजग रहन्छु’ भन्ने वाक्य प्रतिबद्धतामा उल्लेख छ । 

प्रमुख जिल्ला अधिकारी ढकालले रक्सी, चुरोट र सुर्तीजन्य पदार्थ नखाने प्रतिबद्धता जनाएकाले यसलाई कार्यान्वयनमा उतार्न सबैलाई आग्रहसमेत गर्नुभयो । 

स्वास्थ्य कार्यालयमा आयोजित किटजन्य रोगहरु तथा कुष्ठरोगसम्बन्धी सरोकारवाला संस्थासँगको समन्वयात्मक बैठक तथा अभिमूखिकरणअघि सहभागीलाई उहाँले सपथ खुवाउनुभएको हो । 

बेसीशहर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भीमप्रसाद तिवारी, जिल्ला प्रहरी कार्यालय प्रमुख डीएसपी यादव ढकाल, सशस्त्र प्रहरी प्रमुख डीएसपी दीपक बलामी, श्रीजंग गण उदिपुरका मेजर पूर्णबहादुर चन्द, प्रमुख अनुसन्धान अधिकृत सुरेश तिवारी, स्वास्थ्य कार्यालयका प्रमुख केवशप्रसाद चापागाईँ, गौंडा प्राथामिक स्वास्थ्य केन्द्रका मेडिकल अधिकृत डा. दीपक लोहला, लमजुङ मोडेल अस्पतालका निर्देशक डा. तिलकबाबु घिमिरे, नेपाल रेडक्रस सोसाइटीका अध्यक्ष दीपक बराललगायत कार्यक्रममा सहभागीले रक्सी, चुरोट र सुर्ती नखाने प्रतिबद्धता जनाएका स्वास्थ्य कार्यालयका हेल्थ असिस्टेन्ट दीपक बोम्जनले बताउनुभयो । 

समन्वयात्मक बैठकमा डा. लोहलाले हात्तीपाइले, स्क्रब टाइफस, औलो, कालाजार, डेंगु, कुष्ठरोगलगायत रोगबारे जानकारी गराउनुभएको थियो ।


 

अन्तिम अपडेट: चैत १४, २०८०

श्यामशितल परियार

श्यामशितल परियार उज्यालोकाे लमजुङ र मनाङ जिल्ला सम्वाददाता हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया