सन्दीप लामिछाने भन्छन्: पीएसएलमा प्रतिभाशाली ब्याट्सम्यानलाई बलिङ गर्न पाउनु सबैभन्दा ठूलो उपलब्धि

 फागुन ३०, २०७५ बिहिबार २०:१५:३३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – पाकिस्तान सुपर लिग (पीएसएल)मा आफू राम्रो बलर रहेको प्रमाणित गरेका सन्दीप लामिछानेले प्रतिभाशाली ब्याट्सम्यानलाई बलिङ गर्न पाउनु सबैभन्दा ठूलो उपलब्धि भएको बताएका छन् । 

लाहोर कलन्दर्सका लागि सर्वाधिक ११ विकेट लिएका सन्दीप पीएसएल प्रतियोगिताबाट फर्किएका छन् । सन्दीपको टिम पीएसएलमा पुछारमा रहे पनि व्यक्तिगत रुपमा उनका लागि भने राम्रो नै रह्यो । 

उनी प्रतियोगितामा टिमबाट धेरै विकेट लिने खेलाडी बने । तर टिम भने १० खेलमा मात्र तीन जित निकाल्न पुग्यो । सन्दीपले लाहोरले खेलेका सुरुवाती तीन खेल भने खेलेका थिएनन् ।

क्वेटा ग्लाडियटर्सविरुद्ध १० रनमा चार विकेट लिएका सन्दीपले भने, ‘टी–२० खेल जहिले पनि निकै चुनौतीपूर्ण हुन्छ, त्यसमा पनि एसियाली देशका खेलाडीविरुद्ध स्पिन बलिङ गर्नु झन चुनौतीपूर्ण हुन्छ ।’ 

साथै उनले आफूले यो प्रतियोगितबाट धेरै कुरा सिकेको बताए । एक साताका लागि नेपाल आएका सन्दीप आफ्नो परिवारसँग समय बिताएर फेरि इन्डियन प्रिमियर लिगका लागि जानेछन् । 

सन् २००९ मा आतंकवादी आक्रमण भएपछि अन्तर्राष्ट्रिय प्रतियोगिताको आयोजना गर्न नपाएको पाकिस्तानमा पहिलो पटक खेल्न गएका सन्दीपले कराँची निकै राम्रो रहेको र आफू निकै रमाएको बताए ।

अन्तिम अपडेट: बैशाख ८, २०८१

तपाईको प्रतिक्रिया