सर्लाहीमा पूर्व राजा ज्ञानेन्द्र शाहकाे नागरिक अभिनन्दन

 फागुन ३०, २०७५ बिहिबार २०:४१:१५ | रामबाबु खड्का
unn.prixa.net

सर्लाही - तराइ भ्रमणमा निस्कनुभएका पूर्व राजा ज्ञानेन्द्र शाहलाई सर्लाहीको सदरमुकाम मलंगवामा बिहीबार नागरिक अभिनन्दन गरिएको छ ।

सडक मार्ग भएर सर्लाही आइपुग्नु भएका पूर्व राजा शाहको स्वागतका लागि जिल्लाको विभिन्न स्थानबाट समर्थकहरु सदरमुकाम आइपुगेका थिए । नागरिकको बाक्लो उपस्थिति भएपछि सुरक्षाकर्मीलाई  सुरक्षा व्यवस्थापन गर्न समेत हम्मेहम्मे परेको थियो।

पूर्व राजा शाह सदरमुकाम मलंगवामा रहेको दुर्गा भगवती मन्दिरमा पूजाअर्चनालगत्तै नागरिकको तर्फबाट गरिने अभिनन्दनमा सहभागी हुन नजिकै एउटा पार्टी प्यालेसमा पैदल हिँडेर  आईपुग्नु भएको थियो।

नेत्रविक्रम चन्द्र विप्लव नेतृत्वको नेकपाले  गरेको नेपाल बन्दकाे अवज्ञा गर्दै कडा सुरक्षाबीच महोत्तरीको जलेश्वरबाट दिउँसो ४ बजे मलंगवा आइपुग्नु भएको हो । उहाँलाई नवलपुर चौकदेखि मलंगवासम्मको विभिन्न गाउँ तथा चौकमा रहेका नागरिकले स्वागत गर्नुका साथै ‘राजा आउ देश बचाउ, हाम्रो राजा हाम्रो देश, प्राण भन्दा प्यारो छ’ जस्ता नारा लगाएर जयजयकार गरेका थिए ।

पूर्व राजा शाहलाई भेटन सर्लाहीका प्रमुख जिल्ला अधिकारी द्राेण पोख्रेल, नेपाल प्रहरीका उपरीक्षक गोपालचन्द्र भट्टराई, सशस्त्र प्रहरी उपरीक्षक समरबहादुर श्रेष्ठ होटलमा पुग्नुभएको थियो।

त्यसैगरी  पूर्व राजा शाहलाई भेट्न  राप्रपा नेपाल, राष्ट्रिय एकता परिषद् पार्टी, शिवसेना नेपालका कार्यकर्तासहित राजावादीहरुको ठूलो उपस्थिति रहेको थियो ।

पूर्व राजा शाहसँग पूर्व मन्त्री सोनेलाल यादव, राप्रपा नेपालका सर्लाही अध्यक्ष प्रभाकर सिंह र राष्ट्रिय एकता परिषद्का नेता प्रेम श्रेष्ठले मात्र भेट गर्न पाएका थिए। नजिकबाट पूर्व राजालाई हेर्न चाहेका नागरिकले भेटन नपाएपछि उनीहरूले  आक्रोश पनि व्यक्त गरेका थिए ।

अन्तिम अपडेट: चैत १५, २०८०

रामबाबु खड्का

रामबाबु खड्का सर्लाहीका उज्यालो सहकर्मी हुन् ।

तपाईको प्रतिक्रिया