नेपाली कागज उद्योगबाट लाखौँ आम्दानी, ६ परिवारका १८ जनालाई रोजगार

 चैत १, २०७५ शुक्रबार ७:५८:३१ | केशवप्रसाद भट्टराई
unn.prixa.net

ताप्लेजुङ – हिमाली जिल्ला ताप्लेजुङको पश्चिमी गाउँ मैवाखोला गाउँपालिकामा एक प्रधानाध्यापकले नेपाली हाते कागज उद्योग सञ्चालन गरेर लाखौँ आम्दानी गर्दै आउनुभएको छ । 

मैवाखोला गाउँपालिका–३ साँघुको नारायणी माध्यमिक विद्यालयका प्रधानाध्यापकले महलमान चोङ्बाङ गाउँमै कागज उद्योग सञ्चालन गरेर राम्रो आम्दानी लिँदै आउनुभएको हो । 

एक दशक अघि गोरुजुरे नेपाली हाते कागज उद्योग दर्ता गरेर चोङ्बाङले हाल वार्षिक ३० लाख रुपैयाँ बढी आम्दानी गर्दै आउनुभएको छ । उद्योग सञ्चालनमा ल्याएपछि वार्षिक एक हजार ३०० कोरीसम्म (एक कोरी –२०० ताउ) कागज उत्पादन हुँदै आएको छ । 

उद्योगबाट २० ग्राम, ३० ग्राम र ४० ग्राम साइजको कागज उत्पादन हुँदै आएको र एक कोरीको ३ हजार देखि ३ हजार २०० रुपैयाँसम्ममा बिक्री गर्ने गरेको चोङ्बाङले बताउनुभयो ।

उहाँले आफ्नो उद्योगमा उत्पादित हाते कागज काठमाण्डौ पुर्‍याएर बागमती, नेपाल, भक्तपुर पेपरलगायतमा बिक्री गर्ने गरेको जानकारी दिनुभयो । 

यी पेपर उद्योगहरुबाट हुने माग अनुसारको साइजको कागज उत्पादन गरिने पनि उहाँले बताउनुभयो । उहाँले पेपर उद्योगबाट कुनै बेला २० ग्राम साइजको र कुनै बेला ३० तथा ४० ग्राम साइजको कागजको माग हुने गरेको बताउनुभयो ।

नेपाली हाते कागजका लागि कच्चा पदार्थका रुपमा गाउँकै जङ्गलमा पाइने अर्गेली र लोक्ताको प्रयोग गर्ने गरिएको छ । लोक्ता प्रति किलोग्राम एक सय रुपियाँ र अर्गेली एक सय २० रुपियाँले खरिद गरी उद्योगमा प्रशोधन गरेर कागज उत्पादन गर्दै आएको चोङ्बाङले बताउनुभयो । 
उहाँका अनुसार कच्चा पदार्थ अर्थात अर्गेली र लोक्ता गाउँका किसानले जङ्गलबाट सङ्कलन गरेर ल्याउने गरेका छन् । उहाँले ४ सय कृषकहरुबाट लोक्ता तथा अर्गेली संकलन गरिने पनि उहाँले बताउनुभयो । 

यता चोङ्बाङले सञ्चालन गर्नुभएको उद्योगबाट छ परिवारका १८ जनालाई रोजगारीसमेत मिलेको छ । उद्योगमा काम गर्ने मजदूर परिवारहरु उद्योग स्थलमै बसेर कागज उत्पादनको काम गर्दै आएका छन् भने उनीहरुले काम गरेको आधारमा पारिश्रमिक पाउने गरेका छन् ।

मजदूरले २० ग्रामवाला कागजको प्रतिकोरी छ सय रुपियाँ, ३० ग्रामवाला सात सय ५० र ४० ग्रामवाला प्रतिकोरी आठ सय रुपियाँ पारिश्रमिक पाउने गरेका सञ्चालक चोङ्बाङले बताउनभुयो ।

कागज उद्योगमा काम गर्ने मजदूरहरुले काम गरेबापत पाउने पारिश्रमिकले आफ्नो परिवार धान्दै आएको बताएका छन् । उद्योगका मजदूर सञ्जिव राईले कच्चा पदार्थ प्रशोधन गरिसकेपछि मौसम अनुकूल भएमा अर्थात घाम लागेमा एकै दिनमा दुई पटकसम्म कागज निकाल्न सकिने बताउनुभयो ।

काठको फ्रेममा लगाएको कागज सुकाउनुपर्ने हुँदा घाम लाग्दा चाँडै सुक्ने र नलागेमा सुक्नलाई समय लाग्ने राईले बताउनुभयो । मौसम घमाइलो भएमा एकैदिन दुई पटकसम्म कागज सुकाउन सकिने हुँदा त्यसै अनुसार आपूmहरुले पारिश्रमिक पाइने राईको भनाई छ ।

भर्खरैदेखि जापानी प्रविधिको नेपाली हाते कागजको पनि उत्पादन सुरु गरेको चोङ्बाङले बताउनुभयो । यस प्रविधिको मेसिन साथै कागज सुकाउने फ्रेम फरक खालको हुने तथा कागज दुवैपटि चिल्लो र गुणस्तरीय हुने उहाँले जानकारी दिनुभयो । 

सञ्चालक चोङ्बाङले विद्यालयको समय बाहेक बाँकी समय उद्योगका लागि सदुपयोग गर्दै आएको बताउनुभएको छ । 

अन्तिम अपडेट: चैत १४, २०८०

केशवप्रसाद भट्टराई

केशवप्रसाद भट्टराई ताप्लेजुङका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया