सल्यान कारागारको दुरावस्था: क्षमता २५ जना, बन्दी १ सय १५ जना

 चैत १, २०७५ शुक्रबार १३:४०:१५ | पुरुषोत्तम गिरी
unn.prixa.net

सल्यान – जिल्ला कारागार सल्यानमा बन्दीहरुको चाप बढ्दै गएपछि समस्या भएको छ । 

२५ जना बन्दी राख्ने क्षमता भएको सल्यान कारागारमा अहिले महिला, पुरुष र नाबालक गरी १ सय १५ जना बन्दीहरु छन् । महिला र पुरुषका लागि ८ ओटा कोठामा १ सय १५ बन्दी बस्नुपरेको बन्दीका नाइके राजु भण्डारीले बताउनुभयो । 

बन्दीहरु दिनानुदिन बढ्दै गइरहेको भए पनि यसबारे ध्यान पुग्न सकेको छैन । उनीहरुलाई बस्न र सुत्नलगायत खेल्न तथा अन्य सुविधाका लागि चाहिने पर्याप्त ठाउँ पनि छैन । कारागारमा बन्दीको चाप बढेपछि केही कैदीलाई दाङ सरुवा गरिएको जेलर विक्रम केसीले बताउनुभयो । 

कैदीहरुको संख्या बढेको बढ्यै गर्दा अन्य कारागारहरुले पनि ठाउँ छैन भन्छन् । जेलर केसीका अनुसार कारागार जीर्ण र साँघुरो रहेको र वार्षिक रुपमा २० प्रतिशतका दरले कैदी बढिरहेका छन् । 

यहाँ रहेका कैदीलाई सरुवा गर्दा पनि जिल्ला छोडेर बाहिरको जिल्ला जान मान्दैनन् । उहाँ भन्नुहुन्छ, ‘त्यसैले गाडीको सिटको क्षमताभन्दा बढि यात्रु राखे झैं अटाइ–नअटाइ राख्ने गरिएको छ, ।’ 

आकासे खाट मार्फत १२ जनाको व्यवस्थापन

यसरी क्षमताभन्दा बढी बन्दीका लागि राति सुत्ने समस्या भएपछि अहिले एउटा कोठामा आकाशे खाट बनाएर केही बन्दी सुत्ने बन्दोबस्त गरिएको उहाँले जानकारी दिनुभयो । अहिले यस्तो  खाटमा १२ जनासम्म बन्दी सुत्छन् ।  

महिला बन्दी ६ गुणा बढी

जिल्ला कारागार सल्यानमा ५ महिला बन्दी अट्ने क्षमता भए पनि २७ जना महिला बन्दी र ३ नाबालक गरी ३० जना छन् । २ वटा कोठामा उनीहरुलाई निकै सकस भएको जेलर केसीको भनाइ छ । ‘नयाँ भवन नबनेसम्म हामीले केही गर्नसक्ने अवस्था नै छैन,’ उहाँ भन्नुहुन्छ ।  

चर्पीको पनि समस्या 

कारागारभित्र ८५ जना बन्दीले एउटै चर्पी प्रयोग गर्ने गरेका छन् । जिल्ला कारागारभित्र पुरुष र महिला बन्दीका लागि छुट्टाछुट्टै २ वटा चर्पी छन् । जसमध्ये २७ महिला बन्दी र ३ नाबालक गरी ३० जनाले एउटा चर्पी प्रयोग गर्दै आएका छन् भने ८५ जना पुरुष बन्दीका लागि पनि एउटा मात्र चर्पी छ । 

दिउँसोको समयमा भने पुरुषहरुका लागि बाहिरका थप २ वटा र महिलाको लागि बाहिरका थप एउटा चर्पीको व्यवस्था गरिएको भए पनि रातको समयमा भने एउटै चर्पी प्रयोग गर्नुपर्ने बाध्यता छ । 

चर्पीको उचित व्यवस्थापन नहुँदा निकै समस्या रहेको बन्दीहरुले बताएका छन् । महिला र पुरुष दुवैले प्रयोग गर्ने सेप्टीक ट्यांकी भरिएर बाहिर रसाउन थालेका छन् । कारागारको दुरावस्थाका कारण बन्दीहरुले आधारभूत कुराहरुको उपभोगसमेत गर्न नपाएको गुनासो गरेका छन् । 

भवन निर्माणको लागि जग्गा छनौटको प्रक्रिया चल्दै

कारागारलाई अहिलेकै स्थानमा विस्तार गर्ने ठाउँ छैन । जिल्ला अदालतसँगै रहेको कारागारको एकतर्फ सडक, एकतर्फ अदालत, एकतर्फ टेलिकम र अर्कोतर्फ भिरालो जमिन छ । 

नयाँ ठाउँको टुंगो लगभग लागिसकेको र कानुनी प्रकृयाको केही काम मात्रै बाँकी रहेको जेलर केसीले बताउनुभयो । ठाउँको टुंगो लागिसकेको र यसवर्ष कर्णाली प्रदेश सरकारबाट भवनको लागि १ करोड रुपैयाँ विनियोजन भएको पनि उहाँले बताउनुभयाे । 

अन्तिम अपडेट: चैत ४, २०८०

पुरुषोत्तम गिरी

पुरुषोत्तम गिरी सल्यानका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया