गोर्खा भूपू सैनिकहरुका माग सम्बोधनका लागि बेलायतसँग कुटनीतिक पहल गर्न सरकारसँग माग

 चैत १, २०७५ शुक्रबार १४:१:४२ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर- रासस

काठमाण्डौ – प्रतिनिधिसभाका सांसदहरुले गोर्खा भूतपूर्व सैनिकहरुको पेन्सनलगायतका माग सम्बोधन गर्न बेलायत सरकारसँग तत्काल कुटनीतिक पहल गर्न सरकारसँग माग गरेका छन् । 

संघीय संसद अन्तर्राष्ट्रिय सम्बन्ध समितिको शुक्रबारको बैठकमा बोल्दै समितिका सदस्य दिव्यमणि राजभण्डारीले गोर्खा भूतपूर्व सैनिक संघहरुको पेन्सनलगायतका माग सम्बोधन गर्न तत्काल पहल गर्न सरकारसँग माग गर्नु भएको हो । उहाँले बेलायत सरकारले गोर्खा भूतपूर्व सैनिक संघहरुलाई दिने पेन्सनलगायतको सेवा, सुविधामा विभेद गरिरहेको उल्लेख गर्दै ती समस्या समाधान गर्न परराष्ट्रमन्त्री नेतृत्वकै एक उच्च समिति गठन गर्न पनि माग गर्नुभयो ।

समितिका अर्का सदस्य भीम रावलले भूतपूर्व गोखा सैनिकहरुलाई बेलायत सरकारले दिने पेन्सनलगायतका सेवा सुविधामा विभेद गरेको भन्दै समस्या समाधानका लागि पहल नगरेकोमा सरकारको आलोचना गर्नुभयो । उहाँले गोर्खा भूतपूर्व सैनिकहरुको माग सम्बोधन गराउन बेलायत सरकारसँग तत्काल कुटनीतिक पहल गर्न पनि सरकारको गम्भीर ध्यानाकर्षण गराउनुभयो ।

बैठकमा परराष्ट्रमन्त्री प्रदिप ज्ञवाली भने सरकार गोर्खा भूतपूर्व सैनिकहरुको माग सम्बोधन गराउन बेलायत सरकारसँग प्रयासरत रहेको बताउनुभयो । उहाँले गोर्खा सैनिकहरुलाई समानताको आधारमा पेन्सनलगायतका सेवा, सुविधा उपलब्ध गराउन तथा उनीहरुको बलिदानको उचित कदर हुने गरी बेलायत सरकारसँग कुटनीतिक पहल गर्न तयार रहेको पनि स्पष्ट पार्नु भयो । बेलायत सरकारले भूतपूर्व गोर्खा सैनिकहरुलाई सन्तुष्ट बनाउनुपर्ने मान्यतामा नेपाल सरकार अडिग रहेको परराष्ट्रमन्त्री ज्ञवालीको भनाइ छ ।

मन्त्री ज्ञवालीले सरकारले हालसम्म गोर्खा सैनिकमा भर्ना भएका, बलिदान दिएकाहरुको अभिलेखीकरण गर्ने कामलाई अघि बढाएको पनि समितिलाई जानकारी दिनुभयो । उहाँले हरेक देशका छुट्टा छुट्टै सूचना प्रणालीहरु भएकाले त्यस काममा केही ढिलाइ भए पनि सरकारले त्यससम्बन्धी अभिलेखीकरण गर्ने र गोर्खा भूतपूर्व सैनिकहरुको समस्या समाधान गर्दै लैजाने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो ।

बैठकमा समितिका सदस्यहरुले अझै पनि गोर्खा सैनिकमा भर्ना भएकाहरुको अभिलेख समेत राख्न नसकेको भन्दै सरकारको आलोचना गरेका थिए ।


 

अन्तिम अपडेट: चैत २९, २०८०

तपाईको प्रतिक्रिया