मेयरलाई टेर्दैनन् लेखापाल र कार्यकारी निर्देशक; विद्यार्थी दिवा खाजाबाट वञ्चित

 चैत १, २०७५ शुक्रबार १५:६:३१ | विष्णु विश्वकर्मा
unn.prixa.net

धनुषा – प्रमुख प्रशासकीय अधिकृत तथा कार्यकारी निर्देशक र लेखापालको लापरवाहीका कारण धनुषाको सबैला नगरपालिकाका विद्यार्थी दिवा खाजा खानबाट वञ्चित भएका छन् । 

सबैला नगरपालिका भित्रका झण्डै २० भन्दा बढी विद्यालयले दिवा खाजा कार्यक्रम अन्तर्गतको बजेट माग गर्दै आएका छन् । तर कार्यकारी निर्देशक कमलदेव र लेखापाल शिव कुमार यादव अनेक बहाना देखाउँदै विद्यालयलाई बजेट निकासा गर्न आलटाल गरिरहेका मेयर विजय शंकर शाहले गुनासो गर्नुभएको छ ।

बिहीबार सरस्वती उच्च माविमा आयोजित अन्तरक्रिया कार्यक्रममा मेयर शाहले आफूले पटक पटक विद्यालयलाई बजेट दिन निर्देशन दिए पनि आलटाल गरिरहेको बताउनु भएको हो ।

‘माघ २२ गते शिक्षा मन्त्रालयले परिपत्र गरेपछि मैले पटक पटक उहाँहरुलाई बजेट निकासा गर्न भनेको छु’ मेयर शाहले भन्नुभयो, ‘तर बजेट दिनुको साटो उहाँहरु उल्टै मोबाइल अफ गरेर बस्ने गर्नुभएको छ ।’

सरकारले धनुषासहित १० वटा जिल्लाका बालविकासदेखि कक्षा ५ सम्मका विद्यार्थीलाई खाजाका लागि २७ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । तर स्थानीय तहको लापरवाहीका कारण यो बजेटकाे रकम अहिलेसम्म विद्यालयले पाएका छैनन् ।

शिक्षा मन्त्रालयले गएको माघ २२ गते परिपत्र गरेर दैनिक एक विद्यार्थीलाई १५ रुपैयाँका दरले खाजा खुवाउन भने पनि स्थानीय तहहरु भने बजेट निकासा गर्न आलटाल गर्दै आएका हुन । जसका कारण विद्यार्थीहरु भोकभोकै पढ्न बाध्य छन् । 

मेयरले नै गुनासो गरेपछि नगरपालिकाका लेखापाल शिवकुमार यादवले सोमबारसम्म सबै विद्यालयलाई बजेट निकासा गर्ने बताउनु भएको छ ।

‘केही प्राविधिक कारणले ढिलाइ भएको हो’ उज्यालो अनलाइनसँग उहाँले भन्नुभयो, ‘सोमबारसम्म हामी निकासा गरिसक्छौँ । अब ढिलाइ हुँदैन ।’ 

लेखापाल यादवका अनुसार नगरपालिकाका कार्यकारी निर्देशक कमलदेव यादव भने काठमाण्डाै जानुभएकाे छ । गएको हप्तादेखि काठमाण्डाै गएका यादवले बजेट निकासा गर्न आवश्यक प्रक्रिया थाल्नु भएको छैन । कार्यकारी निर्देशक यादव र लेखापाल शिव कुमारकै योजनामा बजेट निकासा नभएको नगरभित्रका विद्यालय प्रधानाध्यापक र मेयरको गुनासो छ ।

तर लेखापाल यादवले ढिलो भए पनि अब विद्यालयको खातामै पैसा हाल्ने प्रतिबद्धता जनाउनुभयो । ‘विगतमा जे भयो भयो । अब ढिला हुँदैन’ उहाँले भन्नुभयो, ‘सोमबार विद्यालयको खातामै पैसा हालिदिन्छौँ ।’ 

अन्तिम अपडेट: चैत १, २०८०

विष्णु विश्वकर्मा

उज्यालोमा कार्यरत विष्णु विश्वकर्मा कृषि र राजनीतिक क्षेत्रमा कलम चलाउनु हुन्छ। 

तपाईको प्रतिक्रिया