एभरेष्ट चिनी उद्योगको ताला खुल्यो

 असार ११, २०७५ सोमबार १९:३६:५७ | धनवीर महतो

महोत्तरी – एक महिना अगाडिदेखि महोत्तरीको रामनगरमा रहेको एभरेष्ट चिनी उद्योगमा किसानहरुले लगाएको ताला सामेबार खोलिएको छ ।

आइतबार जिल्ला प्रशासन कार्यालय महोत्तरीमा चिनी उद्योगका संचालक र उखु उत्पादक कृषक संघ महोत्तरीबीच भएको वार्तामा क्रमिक रुपमा किसानलाई चिनीको भुक्तानी दिने सहमति भएपछि ताला खोलिएको हो । उखु उत्पादक कृषक संघका महोत्तरी अध्यक्ष नरेश सिंह कुशवाहाले दिएको जानकारी अनुसार वार्ताको क्रममा तत्काल ६० करोड बराबरको भुक्तानी किसानलाई दिने सहमति भएको छ भने बाँकी रहेको भुक्तानी अगामी भदौ महिनासम्ममा चिनी उद्योगले क्रमिक रुपमा दिने भएका छन् ।

तत्कालको लागि भुक्तानी पाउनु नै किसानहरुको ठूलो उपलब्धि भएको स्थानीय किसान नेता मनु अधिकारीले बताउनुभयो । गृह मन्त्रालयको निर्देशनअनुसार सम्पन्न भएको वार्तामा दुवै पक्षबीच सहमति भएपछि सोमबार बिहान ११ बजे चिनी मिलमा लगाइएको तालाबन्दी खोलिएको हो ।

पौने २ अर्ब बराबरको उखुको एकमुष्ट भुक्तानीको माग गर्दै उखु उत्पादक कृषक संघ महोत्तरीको अगुवाइमा यहाँका किसानहरु गएको जेठ ६ गतेदेखि उद्योगको विभिन्न स्थानमा तालाबन्दी गर्दै मूल गेटमा धर्नामा बसेका थिए । किसानहरु धर्नामा बसेको स्थलमा नेपाल सरकारका उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले किसानहरुको माग सम्बोधन गर्न आफूले पहल गर्ने जनाएपछि तत्कालको लागि धर्ना कार्यक्रम स्थगित भएको थियो ।

त्यसपछि मन्त्रिपरिषदले उखु किसानको भुक्तानी दिलाउनको लागि बृहत छलफल गरी एक साताको समयसीमा दिएर सम्बन्धित जिल्ला प्रशासन कार्यालयलाई पहल गर्नका लागि निर्देशन दिएको थियो ।

सोही क्रममा जिल्ला प्रशासन कार्यालय महोत्तरीले प्रमुख जिल्ला अधिकारी वावुराम श्रेष्ठको उपस्थितिमा किसान प्रतिनिधि र चिनी उद्योगका संचालकबीच सहमति भएको हो । उखु बिक्री भएको महिनौ बित्दा समेत भुक्तानी नपाएका उखु किसानहरुले हाल ऋण र सापटीको भरमा घरजम चलाउँदै आएका छन ।
 

अन्तिम अपडेट: फागुन २९, २०८०

धनवीर महतो

धनवीर महतो महोत्तरीकाे उज्यालो सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया