काठमाडौं–निजगढ द्रुतमार्ग तोकिएकै समयमा सम्पन्न हुने विकास तथा प्रविधि समितिकाे निष्कर्ष

 चैत १, २०७५ शुक्रबार १५:३६:५८ | उज्यालो सहकर्मी

काठमाण्डाै - संघीय संसदको विकास तथा प्रविधि समितिले काठमाडौं–निजगढ द्रुतमार्ग निर्माणको काम तोकिएकै समयमा सम्पन्न हुने निष्कर्ष निकालेको छ । 

समिति अन्तरगतको उपसमितिले सो द्रुतमार्गको स्थलगत अवलोकनपछि तयार पारेको प्रतिवेदनमा नेपाली सेनाले निर्माण गरिरहेको द्रुतमार्ग निर्माण कार्य तोकिएकै समयमा सम्पन्न हुने उल्लेख गरिएको हो ।

समितिकी सभापति कल्याणी खड्काले समितिको शुक्रबारको बैठकमा द्रुतमार्गको स्थलगत अवलोकनसम्बन्धी प्रतिवेदन पेश गर्दै नेपाली सेनाले द्रुतमार्ग निर्माणको काम प्रभावकारी ढंगले अघि बढाएको पनि जानकारी दिनु भयो ।

७६ दशमलव २ किलोमिटर लम्बाइ रहेको द्रुतमार्गको ५४ किलोमिटरको काम नेपाली सेनाले सम्पन्न गरिसकेको छ । उपसमितिकी संयोजकसमेत रहनुभएकी सभापति खड्काले स्थलगत अवलोकनको क्रममा द्रुतमार्गको ७० प्रतिशत निर्माण कार्य सम्पन्न भएको पाइएको उल्लेख गर्नुभयो ।

प्रतिवेदनमा द्रुतमार्गको काम विनाअवरोध अघि बढाउन सम्बन्धित स्थानीय तहसँग सहकार्यका साथ अघि बढ्न पनि नेपाली सेनालाई सुझाव दिइएको छ ।

त्यसैगरी स्थानीय स्तरमा भएका निर्माण सामग्रीको पनि उचित प्रयोगमा ध्यान दिन पनि नेपाली सेनालाई सुझाव दिइएको समितिकी सभापति कल्याणी खड्काले जानकारी दिनुभयो । स्थानीय निर्माण सामग्री प्रयोगमा कानुनी जटिलता देखिएको उल्लेख गर्दै प्रतिवेदनमा त्यसको उचित व्यवस्थापन गर्न पनि सरकारलाई सचेत गराइएको छ ।

उप-समितिले तयार पारेको प्रतिवेदनमा द्रुतमार्ग निर्माणको काम सम्पन्न हुने आधार सुनिश्चित भएको पनि उल्लेख गरिएको छ । २०७४ साल वैशाख २१ गते तत्कालीन पुष्पकमल दाहाल नेतृत्वको सरकारले ४ वर्षभित्र निर्माण कार्य सम्पन्न हुनेगरी द्रुतमार्गको निर्माणको काम नेपाली सेनालाई दिने निर्णय गरेको थियो ।

सो आयोजनाको निर्माणका लागि एक खर्ब १२ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ ।

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया