वनमा लागेकाे डढेलो बस्तीमा छिरेपछि खोटाङमा ७ घर जलेर नष्ट

 चैत १, २०७५ शुक्रबार २०:३६:३० | उज्यालो सहकर्मी
unn.prixa.net

खोटाङ – जंगलबाट सुरु भएको डढेलो बस्तीमा छिर्दा खोटाङमा ७ घर जलेर नष्ट भएको छ ।

स्थानीय गढीथुम्का र कासेघडेरी सामुदायिक वनबाट सुरु भएको भिषण डढेलो बस्तीमा छिर्दा रावाबेँसी गाउँपालिका–५ दुबेकोलमा रहेकाे घलेगाउँका गोपाल पाण्डे, युवराज पाण्डे, अभिकेसर पाण्डे र भीम पाण्डे तथा ऐसेलुखर्क गाउँपालिका–७ माक्पाका तोमबहादुर निरौला र पहलमान निरौलाको घर तथा गोठ जलेको जिल्ला प्रहरी कार्यालय खोटाङका डीएसपी राजकुमार केसीले बताउनुभयो ।

सम्बन्धित गाउँपालिकाका अनुसार क्षतिको विवरण आउन बाँकी रहेको छ । डढेलो नियन्त्रणका लागि नेपाली सेना, नेपाल प्रहरी र स्थानीय खटिएका बताइएकाे छ । 

रावाबेँसी गाउँपालिकाभित्रको डढेलो पूर्णरुपमा ननिभे पनि खतरा टरेको रावाबेँसी गाउँपालिका प्रमुख लिलानाथ निरौलाले बताउनुभयो । गढीथुम्का र कासेघडेरी सामुदायिक वनबाट फैलिँदै ऐंसेलुखर्क गाउँपालिका–७ माक्पाको लेवा क्षेत्रमा पुगेको डढेलो भने नियन्त्रण बाहिर गएको  ऐंसेलुखर्क गाउँपालिका प्रमुख बिश्वनाथ निरौलाले बताउनुभयो । 

यस्तै, स्थानीय गैरीखेत सामुदायिक वनबाट सुरु भएको डढेलोले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङका विद्याकुमार राईको घर तथा दुईवटा मचान जलेको छ । खोटेहाङ गाउँपालिका–७ खोटाङबजारको धनमुडा चयनपुर सामुदायिक वनमा लागेको डढेलो पनि नियन्त्रण बाहिर गएको प्रहरीले जनाएको छ । 
 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया