आउँदो चुनावमा मोदीलाई बनारसबाट चुनौती दिँदै ‘रावण’

 चैत २, २०७५ शनिबार ९:५९:९ | एजेन्सी
unn.prixa.net

भारतीय दलित नेता तथा भीम आर्मीका संस्थापक चन्द्रशेखर आजाद उर्फ ‘रावण’ ले वाराणसी संसदीय सिटबाट लोकसभा चुनावमा उठ्ने घोषणा गरेका छन् । 

शुक्रबार दिल्लीको जन्तर मन्तरमा भएको ‘हुंकार र्‍याली’ मा चन्द्रशेखरले प्रधानमन्त्री नरेन्द्र मोदीकै सिट वाराणसीबाट चुनाव लड्ने घोषणा गरेका हुन् । 

र्‍यालीमा उनले भने, ‘जसलाई बहुजन समानको चिन्ता छ, उनीहरु सबै आजको र्‍यालीमा सहभागी भए । आउँदो आम चुनावमा म कुनै पनि हालतमा प्रधानमन्त्री नरेन्द्र मोदीलाई सत्तामा पुग्न दिने छैन । मलाई पूरा विश्वास छ कि मैले यो काम सफल रुपमै गरेर छाड्नेछु ।’

सन् २०१४ मा भएको भारतीय लोकसभा चुनावमा नरेन्द्र मोदी उत्तर प्रदेशको वाराणसी क्षेत्रबाट उठेका थिए । उनले आफ्ना प्रतिद्वन्द्वीलाई भारी मतले समेत हराएका थिए । यस पटकको चुनावमा पनि नरेन्द्र मोदी वाराणसीबाटै उठ्ने बताइए पनि भारतीय जनता पार्टी(बीजेपी) का तर्फबाट भने कुनै औपचारिक घोषणा भएको छैन ।

शुक्रबार दिल्लीका र्‍यालीको आयोजना गरेका चन्द्रशेखर आजादले गएको आइतबार उत्तर प्रदेशको मेरठमा एक र्‍याली निकालेका थिए । उनको र्‍यालीमा चुनाव संहितामा तोकिएभन्दा बढी मोटरसाइकल सहभागी भएको भन्दै उनलाई प्रहरीले हिरासतमा समेत लिएको थियो । 

चन्द्रशेखर आजादले सन् २०१४ मा रतन सिंहसँग मिलेर भीम आर्मी नामक संगठनको स्थापना गरेका थिए । भारतका विभिन्न सात राज्यमा गरी यस संस्थाका ४० हजारभन्दा बढी सदस्य भएको बताइन्छ ।

उनको यो संस्थाले शिक्षाका माध्यमबाट दलितहरुको मुक्तिका लागि लड्दै आएको छ । यसले उत्तर प्रदेशमा दलितका लागि निःशुल्क रुपमा विद्यालय सञ्चालन गर्दै आएको छ । 

 

अन्तिम अपडेट: चैत २२, २०८०

तपाईको प्रतिक्रिया