४२ स्थानीय तहमा अझै पुगेनन् बैंक,  कुन प्रदेशको अवस्था के ?

 चैत २, २०७५ शनिबार १२:३:६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – नेपाल राष्ट्र बैंकले यसै आर्थिक वर्षभित्र सबै स्थानीय तहमा वाणिज्य बैंक पु¥याउने घोषणा गरे पनि अहिलेसम्म अझै ४२ वटा स्थानीय तहमा बैंकका शाखा पुग्न सकेका छैनन् । 

राष्ट्रबैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको सात महिनाको वित्तीय अवस्थाको प्रतिवेदनले सात सय ५३ स्थानीय तहमध्ये सात सय ११ वटा स्थानीय तहमा मात्रै वाणिज्य बैंकको शाखा पुगेको देखाएको छ । 

राष्ट्र बैंकको प्रतिवेदनअनुसार प्रदेश एकमा १ सय ३७ वटा स्थानीय तह रहेकोमा एक सय २९ स्थानीय तहमा वाणिज्य बैंकको शाखा पुगेको छ । 

यस्तै प्रदेश दुईमा एक सय ३६ स्थानीय तह रहेकोमा चालु आर्थिक वर्षको सात महिनासम्म एक सय ३३ स्थानीय तहमा बैंकको शाखा पुगेको छ । प्रदेश दुईका तीन स्थानीय तहमा अझै बैंकका शाखा पुग्न सकेका छैनन् । 

यस्तै प्रदेश तीनमा एक सय १९ वटा स्थानीय तह रहेकोमा १ सय १४ वटा स्थानीय तहमा वाणिज्य बैंकका शाखा पुगेका छन् । यस्तै गण्डकी प्रदेशमा ८५ वटा स्थानीय तह रहेकोमा ८२ वटा स्थानीय तहमा वाणिज्य बैंकको शाखा पुगेको छ । ३ वटामा पुगेको छैन ।

प्रदेश पाँचमा एक सय ९ वटा स्थानीय तह रहेकोमा एक सय सात वटा तहमा बैंकको शाखा पुगेको छ । 

कर्णाली प्रदेशमा ७९ वटा स्थानीय तह रहेकोमा ६४ वटा स्थानीय तहमा बैंक पुगेको छ । कर्णाली प्रदेशमा १५ वटा स्थानीय तह बैंकविहीन छन् । 

यस्तै सूदुरपश्चिम प्रदेशमा ८८ वटा स्थानीय तह रहेकोमा चालु आर्थिक वर्षको सात महिनामा ८२ स्थानीय तहमा वाणिज्य बैंकका खाता पुगेको नेपाल राष्ट्रबैंकले जनाएको छ ।  

चालु आर्थिक वर्षको सात महिनासम्म राष्ट्र बैंकबाट इजाजतप्राप्त बैंक तथा वित्तीय संस्थाको संख्या १ सय ५७ पुगेको छ । २८ वाणिज्य बैंक, ३३ विकास बैंक, २४ वित्त कम्पनी र ७२ लघुवित्त वित्तीय संस्थाहरु सञ्चालनमा रहेका छन् । 

बैंक तथा वित्तीय संस्थाहरुको शाखा संख्या २०७५ असार मसान्तमा ६ हजार ६ सय ५१ रहेकोमा २०७५ माघ मसान्तमा ७ हजार ७ सय ३१ पुगेको छ ।
 

अन्तिम अपडेट: बैशाख ९, २०८१

तपाईको प्रतिक्रिया