ठाडी भाकाकी ‘क्वीन’ डिक्रादेवीको कमब्याक : धेरैले सोध्दा मरिगई भन्थे, बादी भनेर हेप्थे !

 चैत २, २०७५ शनिबार १३:२०:४२ | विष्णु विश्वकर्मा
unn.prixa.net

काठमाण्डौ – मलिन अनुहार । चम्किला आँखा । आँखाका नानीहरुमा पीडा र जिज्ञासाका अनगिन्ती धर्साहरु, जसरी चाउरी परेका अनुहारमा देखिन्छन् । तर सबैले सजिलै गरी ती धर्साका पीडाहरु पढ्न सक्दैनन् । सायद डिक्रादेवीलाई धेरैले सुने मात्रै । सुनेरै धेरथोर जाने पनि । तर जानेर पनि उनका अनुहारमा कोरिएका जीवनका कहालीलाग्दा धर्साहरु कसैले राम्रोसँग पढ्न सकेनन् । 

सामान्य महिलाभन्दा अग्लो कद । गोलो अनुहार । केश केही फूलेका छन । अक्सर बुढ्यौली लागे पनि उनको अनुहारमा चमक छ । तर प्रफुल्ल छैन । कतै टोलाएको जस्तो । कतै हराएको जस्तो । कतै बाटो बिराएर रन्थनिए जस्तो । अक्सर अनुहारमा बुढ्यौलीको छाया पर्न लागे पनि ओठमा लाली चोपेर हिँड्दा डिक्रादेवी आफूलाई जवान ठान्छिन् । 

सुदूरपश्चिमको सांस्कृतिक चिनारी देउडा गीतलाई यिनै डिक्रादेवीले माथि उठाएकी हुन । देउडाको ‘ओरिजन’ अर्थात उद्गम बिन्दु ठाडी भाका मानिन्छ । जसलाई पहिलो पटक डिक्रादेवीले आफ्नो सुरिलो स्वरमार्फत देश विदेशमा पुर्‍याएकी थिइन । 

मध्य र सुदूरपश्चिमका धेरै ठाउँमा हिजोआज पनि फाट्टफुट्ट ठाडी भाका गाइन्छ । तर क्यासेटको ‘रिल’मा गाउँघरका ठाडीभाकालाई कैद गर्ने सम्भवतः पहिलो र चर्चित नाम हो, डिक्रादेवी । यसैकारण उनलाई ठाडी भाकाकी ‘क्वीन’ अर्थात महारानी पनि भनिन्छ ।

सायद उनलाई यो महारानी शब्द धेरै महंगो लाग्छ । किनकी उनलाई समाजमा अहिलेसम्म सामान्य नारीको स्थानमा पनि राखिँदैन । सुदूरपश्चिमको रुढिवादी समाजमा उनले आफूलाई गायिका भनेर बोलाएको राम्रोसँग सुनेकी छैनन् । केही मेला, महोत्सवमा क्षणिक समयका लागि देउडा गायिकाको ‘ट्याग’ पाए पनि यो उनको परिचय बन्न सकेको छैन । किनकी उनलाई गायिका कम दलित समुदायमा पनि होच्याएर बादी समुदायकी ...महिला भनेर बढी बोलाउने गरिन्छ ।

टेप रेकर्ड, क्यासेट र मेमोरी कार्ड !   

विक्रम संवत २०२० को दशकमा बझाङको एक विकट गाउँमा डिक्रादेवी जन्मेकी हुन् । बुवा बैरागी र आमा जानकीको कोखबाट पहिलो सन्तानका रुपमा जन्म पाएकी डिक्रा बच्चैदेखि राम्री थिइन् ।

रुपमा जति राम्री थिइन्, स्वर त्योभन्दा बढी मिठो थियो । सायद शब्दमा बयान गर्नै नसकिने कोइलीको जस्तो सुरिलो स्वर भएर होला, जसको चर्चा दिन दुई गुणा रात चौगुना भएर चुलियो । बझाङबाट बाजुरा, अछाम, डोटी, दार्चुला, कैलाली, कञ्चनपुर हुँदै सारा सुदूरपश्चिम र मध्यपश्चिमसम्मै डिक्राको स्वरमा ठाडी भाका गुञ्जिन थाल्यो ।  

यतिञ्जेल बझाङका डाँडापाखामा गाईबाख्रा चराउँदा भाका हाल्ने डिक्रा टेप रेकर्डमा अटाउने भइसकेकी थिइन् । मेलापातमा सुरिलो स्वर सुनेका परदेशी डिक्राको ठाडी भाका टेपमा रेकर्ड गरेर लैजान्थे । फेरि–फेरि रिवाइन्ड गरेर सुन्थे । घरको सम्झना तिर्सना मेटाउँथे ।

‘टाढा टाढाबाट स्वर सुनेर आएको भन्थे । गीत गाउन लगाएर टेपमा रेकर्ड गरेर लैजान्थे । बम्बई जाने बेला पनि रेकर्ड गर्थे । बाटोमा सुन्दै जान्थे । घर फर्किंदा पनि ‘एक डाको गाईदेओ जहानलाई सुनाउँछु’ भन्थे । मेरो स्वर धेरैलाई मन परेको थियो’, उनले भनिन् । 

यसरी सानैमा ठाडी भाकाकै लयमा हुर्केकी डिक्रालाई ठूली गायिका बन्ने रहर जाग्यो । समाजको परम्पराअनुसार सानैमा विवाह गरेर घरजम गर्नेभन्दा गीत गाएर चर्चित हुन मन लाग्यो । तर उनको मनलाई कसले पो बुझिदिने ? उसो त डिक्रालाई आफ्नो सपना पूरा गर्न सजिलो पनि कहाँ थियो र ? यी सब रहरका पाटा थिए । 

आफ्ना श्रीमानसँग कुराकानी गर्दै डिक्रा

बिहेको उल्झन !

तीसको दशकको सुरुमै डिक्राको स्वर सुुदूरपश्चिममा चर्चित बनिसकेको थियो । उनको स्वर जति सुरिलो भएर फैलिँदै गयो, त्यति नै उनलाई मनकी रानी बनाएर लैजाने  राजकुमारहरुको लर्को लाग्न थाल्यो । तर सकेसम्म डिक्राले नाइनास्ती गरिन् ।

क-कसलाई नाइँ भन्नु ? कति जनालाई रित्तै फर्काउनु ? आमाबुवाले साथ दिएसम्म डिक्राले सोचेकै पुग्यो । कसैले जबर्जस्ती गर्न पाएनन् । घिसिँ्रदै पराई घर जानु परेन ।

उनको मनको राजकुमार कुनै बादी समुदायको नभएर एक नामी युवक थियो । आफूजस्तै गोरो । अग्लो । लोभलाग्दो । हेर्दै मन फुरुङ्ग पार्ने जस्तो । आखिर आफूभन्दा माथिल्लो जातका मान्छेसँग लगनगाँठो कस्ने डिक्राको रहर थियो । तर सबै रहर कहाँँ पूरा हुन्छन् र ? डिक्राको रहर पनि त्यस्तै भयो । 

९ महिनासम्म पिछा नछाडेका किथ्याको दुस्साहस !

डिक्रा १३ वसन्त काटेर १४ टेकेकी थिइन । स्वरको जादुले सबैतिर चर्चा कमाइसकेको थियो । बाजुराका किथ्या वादीका कानमा पनि यो कुरा पुग्यो । बिहे गरौँ भनेर कस्सिएका किथ्या ‘खै कस्ती फलेउटी (केटी) रैछ, एकपटक हेरिहालूँ’ भनेर बझाङ पुगे ।

सानीआमाकै घर बझाङ पुगेका उनले जब पहिलो पटक डिक्रालाई देखे, सबै कुरा भूले । बिहेको प्रस्ताव गरिहाले । तर डिक्राले इन्कार गरिदिइन् । किथ्याको प्रयास निरर्थक बन्यो ।

तर हार खाएनन् । डिक्रालाई मनकी रानी बनाइ  छाड्ने सपना पालेर किथ्या उनका आमाबुवासँग माग्न गए । आमाबुवाले पनि किथ्यालाई खाली हात फर्काइ दिए ।

बिहे गर्छु भन्दा नदिएपछि किथ्याले भगाउने प्रयास गरे । फकाउन थाले । एक महिना, दुई महिना होइन, नौ महिनासम्म पछि लागे । घाँस काट्न मेलापात जाँदा होस् वा गाईबाख्रा चराउन जङ्गल जाँदा, कसैगरी पनि किथ्याले पिछा छाडेनन् । अन्ततः डिक्राको मन पनि पग्लिन थाल्यो । सबैको दबाब पनि बढ्दै गएको थियो ।

‘सुरुमा धेरै प्रयास गरेँ । तर कसैले मानेनन् । उल्टो सबैले झर्को मान्न थाले । ससुरा बुवा रिसाउन थाले । मेरी छोरी दिंदैन भन्थे । देखे पनि राम्रो मान्दैनथे’, किथ्याले भने, ‘तर लगातार पिछा गर्न छाडिनँ ।’ 

२०३६ सालमा देशमा राजा रोज्ने कि बहुदल रोज्ने भन्नेमा जनमत संग्रह भयो । यता डिक्राको मनको जनमत भने बिस्तारै बिस्तारै किथ्याको पक्षमा जान थाल्यो । अन्ततः देशले राजाकै हुकुमी शासन पायो । डिक्राको मन पनि किथ्याको साम्राज्यमा समाहित हुन पुग्यो ।

अनि सुरु भयो विभेदको संघर्ष

किथ्याको लामो कसरतपछि सुदूरपश्चिमको ठाडी भाकामा चम्किलो तारा बनेर उदाएकी डिक्रादेवी गायिका होइन, पुर्खाकै रीतिअनुसार बादीकी श्रीमती बनिन् । डाँडापाखा रन्किने गरी ठाडीभाका गाउने डिक्रा अब जुठा भाँडा मस्काउन थालिन् ।

यसबीचमा छोराछोरी जन्मे । परिवार बढ्दै गएपछि किथ्या–डिक्राको जहान परिवार बझाङबाट कैलाली बसाई सर्‍यो । आफ्नो जमिन नभएपछि उनीहरु कैलालीबाट फेरि कञ्चनपुर पुगे । अहिले पनि एक धुर ऐलानी जग्गामा किथ्या र डिक्राको झुपडी छ । झुपडीमै जिन्दगी चलिरहेको छ ।

बादी भन्नेबित्तिकै मागी खाने जात भन्ने सुदूपश्चिमको मानसिकता आज पनि फेरिएको छैन । तर अहिलेसम्म डिक्रा परिवारले हातै फैलाएर मागी खाएका छैनन् । जति सकिन्छ दुई हात नंग्रा खियाएर साँझ बिहानको छाक टारेका छन् । 

तर डिक्रा दम्पतीलाई भने सबैले हेयको दृष्टिकोणले हेर्थे । कहिल्यै मान्छेका दृष्टिले हेरेनन् । यसलाई डिक्रा शब्दमा व्यक्त गर्न सक्दिनन् ।

पहिलो गीत भारतमा रेकर्ड भयो, नेपालमा गुुञ्जियो !

पचासको दशकमा नेपाली गीत संगीतले बजार लिइरहेको थियो । नारायणगोपालका गीत सबैतिर घन्किन्थे । सुदूरपश्चिमको देउडा गीत मेला, महोत्सवमै सीमित थियो । ठाडी भाका गाउँघरमै मात्र गाइन्थ्यो ।

जब टेप किनेर परदेशी गाउँघर पुग्न थाले, बजारबाट क्यासेट किनेर गीत सुन्ने चलन बढ्यो । अनि देउडा गीत पनि रेकर्ड हुन थाले । २०५२ सालमा सुदूरपश्चिमकै नरेन्द्रराज रेग्मी र गोरख थापाले भारतको पलियामा बसिबियालो गीत रेकर्ड गराए । त्यतिबेला काठमाण्डौ आउन भन्दा पलिया जान नजिक पर्थ्याे ।

जसमा पहिलो पटक डिक्रादेवीको स्वर पनि समावेश भयो । कञ्चनपुरमा बस्ने डिक्रादेवीको स्वरमा गीत रेकर्ड गरे एल्बम बिक्छ भन्ने चर्चा त्यो समयमा थियो । रेग्मी र थापाले पनि एल्बम बिकाउनैका लागि डिक्रादेवीलाई पलिया लिएर स्वर भर्न लगाएका थिए ।

एल्बम बिकाउनका लागि रेकर्ड गरिएको गीतले डिक्रादेवीलाई व्यवसायिक गायिका बनायो । त्यसयता झण्डै दश वर्ष सुदूरपश्चिमका सबैजसो देउडा गीत र ठाडी भाकामा डिक्रादेवीले स्वर दिनु भएको छ ।

‘पलिया गएर पहिलो गीत गायाकी हूँ । त्यसपछि अरु गीत पनि गाएँ । क्यासेट हराएर मेमोरी कार्डको जमाना आएपछि गीत गाउनु छुट्यो’, डिक्राले भनिन् ।
डिक्रादेवीको कोकिलकण्ठ स्वरको चर्चासँगै माग बढ्न थालेपछि अन्तराम बिष्टले पहिलो पटक काठमाण्डौ ल्याएर ‘बउजु गीत’ रेकर्ड गराएका थिए । त्यसपछि डिक्रादेवीले विभिन्न मेला महोत्सवमा पनि गीत गाइन् । तर अरु गायक गायिकाजस्तो जीवन धान्ने पारिश्रमिक र सम्मान पाउन नसकेपछि उनले महोत्सवमा पनि गीत गाउन कम गरिन् ।

त्यसमाथि क्यासेटलाई विस्थापित गर्दै गीत संगीतको बजार ‘मेमोरी कार्ड’ हुदैँ डिजिटल युगमा प्रवेश गरेपछि डिक्रादेवी भने ओझेल परिन् । ‘पारिश्रमिक नपाउँदा र क्यासेटको जमाना हराएपछि गीत गाउन छाडेकी हूँ । पहिलो जस्तो खोजी खोजी गीत गाउन लगाउने पनि कोही भएनन्’, उनले भनिन् ।

कमब्याक कि पुसब्याक !

क्यासेटको जमाना हराएर सामाजिक सञ्जालको युग सुरु भएका बेला डिक्रादेवीले फेरि गायन यात्रालाई निरन्तरता दिएकी छन् । साहित्यकार हेमन्त विवश, अमृत भाद्गाउँले, झुमा लिम्बूलगायत सर्जकको पहल र श्रोताको मायाले पहिलो पटक काठमाण्डौमा एकल साँझ कार्यक्रममा ठाडी भाका गाएकी डिक्रा निरन्तर गीत गाउने दाबी गर्छिन् ।

‘हेमन्त भाइले लामो समयदेखि सोधीखोजी गर्दा धेरैले मलाई मरिगई भन्थे । तर म जिउँदै छु । फेरि पनि ठाडी भाका गाउँछु । सास रहेसम्म, स्वरले साथ दिएसम्म गीत गाउँछु’, डिक्राले भनिन् ।

झण्डै दश वर्षपछि सञ्चारकर्मी केपी अनमोलले लेखेको ‘सुवा’ बोलको गीत गाएर डिक्रा गायनमा फर्केकी हुन् । उमेरले ५० कटे पनि सुदूरपश्चिमकी पहिलो देउडा गायिका बनेकी डिक्रादेवीको स्वरमा अहिले पनि जादु नै मिसिएको भान हुन्छ । 

सर्जकको मायाले लामो समयपछि गीत संगीतमा फर्केकी उनले फेरि गीत गाएरै जीविकोपार्जन गर्छिन् भन्ने आधार पर्याप्त छैन । पहिलेजस्तो अहिले देउडा गीत पर्याप्त मात्रामा रेकर्ड हुन पनि छाडेका छन् ।

रेकर्ड भएका गीतमा पनि श्रोता तथा दर्शकको उतिसारो माया छैन । आधुनिक र पश्चिमा गीत संगीतले बजार धानेका बेला मौलिक देउडा गीतलाई फेरि जगाउनु चुनौती छ । लामो समयपछि सर्जकको मायाले गीत गाएकी डिक्रादेवीले धेरैको साथ सहयोगमा पुनरागमन गर्ने अपेक्षा गर्न सकिन्छ ।

सुदूरपश्चिममा ओझेल परेकी देउडा गायिकालाई काठमाण्डौमा एकल साँझ गरेर गायनमा फर्काउनु ठूलो हौसला हो । तर डिक्राका लागि यो मात्रै पर्याप्त छैन । सुदूरपश्चिमका डाँडापाखामा मात्रै सुनिने उनका गीत अहिले देश विदेशमा गुञ्जिने गरे पनि फेरि त्यही समय ल्याउन कठिन छ । 

यद्यपि एकल साँझपछि उनका शून्यप्रायः गीत अहिले युट्युबमा भेटिन थालेका छन् । पहिले पहिले स्टुडियोमै थन्किएका, क्यासेटमै सीमित गीतका अडियो मात्रै भए पनि युट्युबमा भेटिनु उनको अस्तित्वमाथिको सम्मान हो । 

अन्तिम प्रश्न, सरकार विभेद कहिले अन्त्य गर्छौ ?

काठमाण्डौमा एकल साँझ गरेपछि डिक्रा दम्पती फेरि कञ्चनपुर फर्किएको छ । एकल साँझमा वर्षौंपछि मञ्चमा सँगै देखेपछि धेरैले आर्थिक सहयोग पनि गरे । तर डिक्रा दम्पतीलाई अहिले पनि सबैभन्दा बढी झस्काउने समस्या हो, जातीय विभेद ।

विभेदकै कारण डिक्राले थुप्रै महोत्सवमा गीत गाउँदा पारिश्रमिक पाउन सकिनन् । कैयौँ गीत रेकर्ड गर्दा पूरा पारिश्रमिक लिन सकिनन् । मागी खाने जातका रुपमा समाजले बुझ्दा उनी बादी समुदायकी महिलाभन्दा माथि उठेर गायिकाका रुपमा समाजले चिन्न सकेन ।

सामाजिक रुढीवादी सोचका कारण डिक्रालाई अहिले पनि यी समस्याले निकै पिरोल्छन् । चर्चित र लोकप्रिय देउडा गायिका भए पनि उनकै स्वरमा स्वर मिसाएर थुप्रै गायक बने । उनलाई प्रयोग गरेर धेरैले एल्बम बिक्री गरे । पैसा कमाए । तर डिक्राले अझै पनि आत्मसम्मानसमेत पाउन मुश्किल भइरहेको छ ।

‘खाउँ भने अन्न छैन । बसौँ भने गतिलो बास छैन’, आँखाका डिलबाट बरर्र आँशु झादै डिक्राले भनिन्, ‘यै देशको नागरिक हौँ भने केही न केही व्यवस्था गरिदेउ । सबैभन्दा पहिला यो तल्लो जात माथिल्लो जात भन्ने हेपाइ बन्द गरिदेउ ।’

२०६४ सालमा बादी समुदायका महिलाले काठमाण्डौ आएर सिंहदरबार घेराउ गर्दा डिक्राले साथ दिएकी थिइन् । उमादेवीले सिंहदरबारको गेट चढेर राज्यलाई चुनौती दिँदा डिक्रा पनि अर्धनग्न भएर नारा लगाइरहेकी थिइन् । माग पूरा गर्छौ भनेर सहमति गरेको सरकारले आफूलाई सधैँ ढाँट्दै आएको उनको गुनासो छ ।

‘सरकारले घर बनाउँछु, लालपूर्जा भएको जमिन दिन्छु भनेको थियो । तर अहिलेसम्म सोधखोज पनि गरेको छैन’, बादी समुदायका व्यथा सुनाउँदै डिक्राले भनिन्, ‘हामीलाई सबैले ढाँटे । कसैले बोलेको बचन पूरा गरिदिएनन् । सबैले हेपेरै त होला ।’

तर पनि सबैको साथ, सहयोग र हौसलाले डिक्रा दम्पत्ती अहिले थोरै भए पनि आशावादी छ । विगतमा जे जति दुःख पीडा पाए पनि अब सुख सन्तोषले जीवन बिताउने र आत्मसम्मान पाइनेमा आशावादी छन् । दुई छोरी आफ्ना घर गएर छोराले बुहारी ल्याउँदासमेत आराम नपाएको यो जोडी दर्शक र श्रोताको मायाले भने सारङ्गी रेटेरै फेरि गीत गाउन उत्साहित देखिन्छ ।

अन्तिम अपडेट: असार २४, २०७६

विष्णु विश्वकर्मा

उज्यालोमा कार्यरत विष्णु विश्वकर्मा कृषि र राजनीतिक क्षेत्रमा कलम चलाउनु हुन्छ। 

तपाईको प्रतिक्रिया