न्युजिल्याण्ड मस्जिद हमला: दुई छोराको ज्यान बचाउन बुवाले थापे गोली

 चैत २, २०७५ शनिबार १५:२२:१५ | एजेन्सी
unn.prixa.net

न्युजिल्याण्डको क्राइष्टचर्च शहरमा रहेको मस्जिदमा शुक्रबार भएको आक्रमणमा एकजनाले बुवा हुनुकाे अदम्य साहस देखाए । उनी आफ्ना छाेराहरुलाई बचाउन आतंककारीहरुकाे निशाना बनिरहे । छाेराहरुकाे अगाडि उभिएर पिठ्युँमा गाेली थापिरहे र छोराहरुलाई गोली लाग्नबाट बचाए ।  

आतंककारीहरुको गोली लागेर घाइते भएका उनकाे अहिले अस्पतालमा उपचार भइरहेको छ । ५२ वर्षीय अदिब सामी आफ्ना दुई छोराहरुको साथमा मस्जिद गएका थिए । त्यति नै बेला आतंककारीहरुले फायरिङ गर्न सुरु गरे । अहिले दुबईमा बस्दै आएका अदिब इराकी मूलका नागरिक हुन् । उनको पिठ्युँमा गोली लागेको छ । 

उनी क्राइस्टचर्चको नूर मस्जिदमा उपस्थित थिए । अदिब अल ओमल इन्जिनियरिङ कन्सल्टेन्सी नामकाे फर्म चलाउँछन् । आफ्नो बुवाको साहसिक निर्णयले गर्दा २९ वर्षीय अब्दुल्ला र २३ वर्षीय अलीको ज्यान बचेको हो । 

आफ्नाे बुवाले एकदमै साहसिक कार्य गरेकाे भन्दै अदिबकी छोरीले भनिन्, ‘मेरा बुवा साँच्चिकै हिरो हुनुहुन्छ । भाइहरुलाई बचाउनको लागि उहाँले आफ्नो पिठ्युँमा गोली थापेर भाइहरुलाई केही पनि हुन दिनुभएन ।' अस्पतालमा उपचारपछि अदिबको पिठ्युँबाट गोली निकाली सकिएको छ । अहिले उनी खतरामुक्त छन् ।

न्युजिल्याण्डका प्रधानमन्त्री जेसिण्डा अर्डर्नले यो घटनालाई हिंसाको एक असाधारण र अभूतपूर्व घटना बताएका छन् । जुन व्यक्तिले हमलाको जिम्मेवारी लिएका छन्, उनी २८ वर्षका श्वेत अष्ट्रेलियाली नश्लवादी हुन् ।

अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मारिसनले हिरासतमा लिइएका  चार जनामध्ये एक अष्ट्रेलियाका नागरिक भएको बताएका छन् । 

अन्तिम अपडेट: फागुन २९, २०८०

तपाईको प्रतिक्रिया