कपिलवस्तुका बुद्धकालीन पुरातात्विक क्षेत्रको संरक्षण र विकासमा प्रदेश सरकारको विशेष चासो

 चैत २, २०७५ शनिबार १७:४०:२ | गोपाल भण्डारी
unn.prixa.net

कपिलवस्तु – प्राचीन कपिलवस्तुका बुद्धकालीन पुरातात्विक क्षेत्रहरुको संरक्षण र विकासका लागि प्रदेश सरकारको विशेष चासो रहेको मुख्यमन्त्री शंकर पोखरेलले बताउनुभयो । 

मुख्यमन्त्री पोखरेलले शनिबार कपिलवस्तु जिल्लाका पुरातात्विक स्थलहरुको अवलोकन गर्ने क्रममा सञ्चारकर्मीहरुसामु संक्षिप्त प्रतिक्रिया दिँदै प्राचीन कपिलवस्तु क्षेत्र प्रदेश ५ को प्रमुख पर्यटकीय गन्तव्य बन्नसक्ने र यसका लागि प्रदेश सरकारले विशेष नीति तथा कार्यक्रम अघि सारेको बताउनु भएको हो । 
त्यस अवसरमा मुख्यमन्त्री पोखरेलले शाक्यमुनि बुद्धले ज्ञान प्राप्त गरेपछि पहिलो पटक आफ्ना माता पितालाई भेट गरेको स्थान कुदान, क्रक्छन्द बुद्धको जन्मस्थल गोटिहवा, नेपालकै ठूलो शिवलिंग रहेको ताम्रेश्वर महादेवको मन्दिर लगायतका पुरातात्विक तथा धार्मिक स्थलहरुको अवलोकन गर्नुभएको थियो ।

चालु आर्थिक वर्षमा प्रदेश सरकारबाट कपिलवस्तुका पुरातात्विक, पर्यटकीय तथा धार्मिक स्थलको विकासका लागि विशेष कार्यक्रम सञ्चालन हुने बताउनु भयो ।
कपिलवस्तुमा बुद्धसँग सम्बन्धित १ सयभन्दा बढी पुरातात्विक स्थलहरु, विश्व सीमसार क्षेत्रमा सूचीकृत जगदीशपुर ताल लगायतका पुरातात्विक तथा पर्यकटकीय स्थलहरु रहेका छन् । 

मुख्यमन्त्री पोखरेलका साथमा सांसद बृजेश कुमार गुप्ता, प्रदेश सभा सदस्यहरु दीर्घनारायण पाण्डेय, धमर बहादुर लाल श्रीवास्तवलगायतको उपस्थिति रहेको थियो । 

अन्तिम अपडेट: चैत २६, २०८०

गोपाल भण्डारी

गोपाल भण्डारी कपिलवस्तुका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया