साफ महिला च्याम्पियनसिप: एक खेलअगावै सेमिफाइनलमा पुगेकाे नेपाल बंगलादेशलाई हराउँदै समूह विजेता

 चैत २, २०७५ शनिबार १७:१०:२९ | उज्यालो सहकर्मी
unn.prixa.net

माेरङ - विराटनगरमा जारी साफ महिला च्याम्पियनिसिप फुटबलमा नेपाल समूह ए को विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको छ ।

पहिलो खेलमा भुटानलाई ३–० गोलले पराजित गरेको नेपाल समूह चरणको अन्तिम खेलमा बंगलादेशविरुद्ध पनि ३–० कै जित निकाल्न सफल भयो । जितसँगै ६ अंक जोडेको नेपाल समूह ए बाट सेमिफाइनलमा स्थान बनाउँदा बंगलादेश ३ अंकसहित उप विजेता बन्दै अन्तिम चारमा पुगेको हो ।

नेपालको जितमा तीन गोल नै पहिलो हाफमा सम्भव भएका थिए । आत्मघाती गोलबाट खेलमा अग्रता बनाएको नेपालका लागि सावित्रा भण्डारी र अञ्जली कुमारी योञ्जनले एक एक गोल थपे । मसुरा प्रबिनले पाँचौं मिनेटमा गरेकाे आत्मघाती गोलका कारण नेपालले शुरुवाती अग्रता लिएको थियो ।

त्यसअघि नेपालले एउटा सुवर्ण अवसर गुमाएको थियो । सावित्रा भण्डारीले वन भर्सेस वनको स्थितिमा पनि गोल गर्न सकेकी थिइनन् ।

छैटाैं मिनेटमा निरु थापाले पनि एउटा राम्रो अवसर गुमाउन पुगिन् । २३औं मिनेटमा सावित्रा भण्डारीले बंगलादेशको कमजोर डिफेन्सको फाइदा उठाउँदै गोल गर्दा नेपालले २–० को अग्रता लिएको थियो । २८औं मिनेटमा सावित्राकै पासमा मञ्जलीले गोल गर्दै नेपाललाई पहिलो हाफअघि ३–० को अग्रता दिलाइन् ।

दोस्रो हाफमा थप गोल नभएपछि नेपाल अन्ततः ३–० को जित निकाल्न सफल भयो ।

अन्तिम अपडेट: चैत १, २०८०

तपाईको प्रतिक्रिया