मिथिलाञ्चलमा होलीको रौनक सुरु, परम्परागत जोगिरा लोप हुँदै

 चैत ३, २०७५ आइतबार १५:३५:३३ | शुभनारायण यादव
unn.prixa.net

सप्तरी – रंग र अबिरको पर्वको रुपमा चिनिने होलीको रौनक सप्तरीसहित मिथिलाञ्चलमा सुरु भएको छ ।

होली है बुरा मत मानो, जोगिरा सर र...र जस्ता सुमधुर होलीका गीतहरु अहिले मिथिलाञ्चलका विभिन्न ग्रामिण भेगहरुमा जताततै गुन्जिरहेको छ ।

मिथिलाञ्चलमा श्रीपञ्चमी अर्थात सरस्वती पुजाबाट नै होलीको रौनक र जोगीरा खेल्ने क्रम सुरु हुने गरेकोमा यस वर्र्ष होलीको एक हप्ता अगाडिबाट मात्र सुरु भएको स्थानीयहरुले बताएका छन् ।

विगतमा जस्तो बढी चर्चामा नरहे पनि गाउँगाउँमा होलीको गीत र जोगीरा गाउने क्रम बढेको छ ।

यहाँका स्थानीयहरुले विधिपूर्वक चीर ठड्याई यस वर्षको फागु (होली) पर्वको गीत र जोगीरासँगै सुरु भएको स्थानीय जानकारहरु बताउँछन् । 

विगतकोभन्दा अहिले मिथिलाञ्चलमा जोगिरा गाउनेहरुको संख्यामा निकै कमी आएको देखिन्छ । होली पर्वको आगमनसँगै मिथिलाञ्चलको गाउँगाउँमा गाइने जोगिरा (एक प्रकारको परम्परागत गीत) लोप हुँदै गएको छ । 

सप्तरीसहित मिथिलाञ्चलको प्रत्येक टोलटोलमा विगतका वर्षमा सुनिने जोगिरा अब सुनिन छोडिएको स्थानीयवासीको भनाइ छ । 

पहिले पहिले गाउँका दलानमा डम्फु, झ्याली, हार्मोनियमको तालमा अबेर रातिसम्म विभिन्न उमेर समूहका युवा, वयस्क र वृद्धको छुट्टाछुट्टै टोलीले समूह बनाइ जोगिरा गाउने चलन थियो । 

डम्फुको तालमा गवैया मनोयोगका साथ जोगिराको माध्यमबाट देवीदेवताको वन्दना गर्ने, हाँसो–ठट्टा, पे्रम–विछोड र हर्ष–विनोदका भाव गीतको माध्यमबाट प्रस्तुत गर्ने जोगिरा अहिले लोप हुँदै गएको छ । 

मिथिलाञ्चलमा होली पर्वको अवसरमा गाइने जोगिरा संस्कृतिको जगेर्ना गर्ने र निरन्तरता दिने युवा समुदायको खाँचो देखिएको स्थानीय बुढापाकाहरु बताउँछन । 

पहिला पहिला जोगिरा गाउन होलीको एक महिनापूर्व नै देश–परदेशमा रोजगारीमा गएका युवा, वयस्क आ–आफ्ना घर फर्केर आइ एक महिनासम्म गाउँ गाउँमा अबेर रातिसम्म जोगिराले गाउँगाउँ गुञ्जायमान बन्ने गरेकोमा अहिले ती सबै हराएर गएको जानकारहरुको भनाइ छ ।

जोगिराको अन्त्यसँगै सामाजिक सद्भाव पनि घट्दै गएको छ भने मिथिलाको मौलिक परम्पराका रूपमा रहेको फागु गीत पनि लोप हुन थालेको सप्तरीको साविक बरही बिरपुर–७, हाल छिन्नमस्ता गाउँपालिका–१ का वयावृृद्ध दुबीलाल यादवको कथन छ । 

जोगिरा गाउने परम्परा संरक्षणको आवश्यकता रहेको बताउनुहुँदै उहाँले अहिलेका युवामा आपसी सद्भाव, भाइचारा, बन्धुत्व र सामाजिक एकताको अभावमा यसको लोप हँुदै गएको जानकारी दिनुभयो ।

होली र जोगिराको नाउँमा मिथिलाञ्चलमा खासगरी अपशब्द प्रयोग गरिएका भोजपुरी गीतहरु अहिले विभिन्न ग्रामीण भेगहरुका गुन्जिरहेको सुुन्न पाइन्छ ।

हिन्दू धर्मशास्त्र अनुसार हिरण्यकश्यपका पुत्र प्रह्लादको हत्या गर्ने उद्देश्यले होलिका आगोमा जाँदा होलिकाको दहन भएको र प्रह्लाद बाँचेको पौराणिक कथालाई लिएर होली मनाइने प्रचलन रहेको छ ।

होली पर्वमा यहाँका युवाहरुले जाँड रक्सी जस्ता नशालु पदार्थ सेवन गर्ने तथा जबर्जस्ती रंग अबिर लगाउने प्रवृत्तिसमेत विगतका वर्षहरुमा देखिएकाले यस वर्ष यस्ता कार्यहरु नगर्न स्थानीय प्रहरी प्रशासनले सबै पक्षसँग अनुरोधसमेत गरेको छ । 


 

अन्तिम अपडेट: चैत ७, २०८०

शुभनारायण यादव

शुभनारायण यादव सप्तरीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया