आगलागीमा ६ घर जलेर नष्ट

 चैत ३, २०७५ आइतबार १०:३२:५५ | रासस
unn.prixa.net

पाँचथर – हिलिहाङ्ग गाउँपालिका–३ साविकको पञ्चमी गाविस वडा नं ३ डाँडेको रमिते भन्ने भिरमा लागेको आगो गाउँ पस्दा शनिबार राति ६ घर जलेका छन् । 

बस्तीमा पसेको आगो नियन्त्रणमा आएको छ भने जङ्गलको आगो अझै नियन्त्रणबाहिर रहेको जानकारी प्राप्त भएको छ । मनप्रसाद पालुङ्वा, हर्कबहादुर पालुङ्वा, राजकुमार पालुङ्वा वेदमाया पौड्याल, डम्बरबहादुर पालुङवा, धनप्रसाद पालुङवाको घर जलेका हुन् । 

आगलागी भएका घरमध्ये मनप्रसाद पालुङ्वा, हर्कबहादुर पालुङ्वा, राजकुमार पालुङ्वा र वेदमाया पौड्यालको घर पूर्णरूपमा जलेको छ । उनीहरूको सम्पूर्ण धनमाल जलेर नष्ट भएको छ । आगलागीका कारण के कति क्षति भयो भन्ने तत्काल यकिन हुन नसकेको गाउँपालिका–३ का वडा सदस्य धनबहादुर पालुङवाले बताउनुभएको छ । 

जङ्गलको आगो नियन्त्रणका लागि स्थानीयवासीन्दा, इलाका प्रहरी कार्यालय गोपेटार, इलाका प्रहरी कार्यालय अमरपुर, जिल्ला प्रहरी कार्यालय फिदिम, विष्णु दल गण जोरपोखरीबाट गएको टोलीले प्रयास गरी रहेपनि नियन्त्रणमा आउन सकेको छैन । अहिले आगो पूर्वी क्षेत्र वनपाला जङ्गलतर्फ मोडिएको पालुङवाले बताउनुभयो । 

अन्तिम अपडेट: फागुन २९, २०८०

तपाईको प्रतिक्रिया