दाङमा १५ सयलाई स्वरोजगार तालिम

 चैत ३, २०७५ आइतबार ११:१०:४६ | रासस

दाङ – सरकारको स्वरोजगार अवधारणा अनुरूप दाङमा यो वर्ष १५ सय जनालाई तालिम दिइने भएको छ । राप्ती प्राविधिक शिक्षालय दाङले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् अन्तर्गत १९ विधामा छोटो अवधिको तालिम शुरु गरेको प्राविधिक शिक्षालयका प्रमुख मोतीलाल चौधरीले जानकारी दिनुभयो । 

नेपालमै युवालाई व्यावसायिक तालिम दिएर दक्ष जनशक्ति उत्पादन गरी स्वरोजगार बनाउन तालीम दिन शुरु गरिएको चौधरीको भनाइ छ । ‘नेपाल सरकारले देशभरि ४२ हजार जनालाई तालिम दिने योजना ल्याएको थियो, त्यसमा पनि यस वर्ष प्रदेश ५ अन्तर्गत दाङमा १५ सय जनालाई स्वरोजगारमूलक विभिन्न तालिम सुरु गरेका छौं’, उहाँले भन्नुभयो । 

प्राविधिक शिक्षालयले ब्युटिसियन, सिलाइकटाइ, पेन्टर, प्लम्बर, जुनियर मेकानिक्स, अप्टिकल डिस्पेन्सर (चश्मा बनाउने) तालिम लगायतका १९ वटा तालिम यस वर्ष सञ्चालन गरेको बताएको छ । त्यस्तै लमहीमा शनिबारदेखि ६५ दिने अप्टिकल डिस्पेन्सर तालिम सुरु भएको छ । 

२० जना सहभागी रहेको तालिममा दृष्टि विशेषज्ञ मदन चौधरी र प्रकाश चौधरीले प्रशिक्षण दिइरहेको राप्ती प्राविधिक शिक्षालयका तालिम संयोजक कुलराज चौधरीले जानकारी दिनुभयो ।
 

अन्तिम अपडेट: फागुन २८, २०८०

तपाईको प्रतिक्रिया