भारतीय दूतावासको सहयोगमा निर्माण सुरु भएको विद्यालयको भवन ७ वर्षमा पनि पूरा भएन

 चैत ३, २०७५ आइतबार ११:३७:४४ | उज्यालो सहकर्मी
unn.prixa.net

महोत्तरी – महोत्तरीको रामगोपालपुरमा रहेको महेन्द्र राष्ट्रिय माध्यमिक विद्यालयका भवन निर्माण कार्य सुरु भएको ७ वर्ष बित्दासमेत अहिलेसम्म पनि पूरा हुन सकेको छैन ।

भारतीय दूतावासको आर्थिक स्रोतमा विसं २०६८ सालदेखि निर्माणको काम सुरु भएको यो विद्यालयको भवन अहिले पनि अधुरा छन् । २ करोड २४ लाख ३७ हजार २ सय ५ रुपैयाँमा दुईतले २२ कोठे भवन निर्माण गर्ने सम्झौता गरेको काठमाण्डौको कोशी एण्ड न्यौपाने हरि हरि जेभीले निर्माण कार्य अधुरो छाडेपछि भवन अलपत्र अवस्थामा छ ।

एक वर्षमा निर्माण कार्य सम्पन्न गर्ने गरी यो कम्पनीले २०६८ साल मंसिर २० गते भारतीय दूतावाससँग सम्झौता गरे पनि कम्पनीले तोकिएको समयसीमाभित्र भवन निर्माण सम्पन्न नगरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हिरा मण्डलले बताउनुभयो । 

त्यसपछि म्याद थप गरी २०७० साल जेठ १९ गतेसम्म विद्यालय भवन निर्माण सम्पन्न गर्नका लागि समयसीमा तोकिएको थियो । भवन निर्माण गर्ने क्रममा कम्पनीले गुणस्तरहीन सामाग्री प्रयोग गरेको भन्दै स्थानीयले काममा अवरोध पारेपछि भवन निर्माण कार्य अगाडि बढ्न सकेन । 

त्यतिबेलाम्म यो कम्पनीले काम गरेवापत ६९ लाख ८७ हजार रकम बराबरको भुक्तानी लिइसकेको रामगोपालपुर नगरपालिकाको कार्यालयले जनाएको छ ।

नगरप्रमुख अशोक कुमार मण्डलले यस सम्बन्धमा आफूले बारम्बार शिक्षा मन्त्रालयसमक्ष अधुरा भवन निर्माण सम्पन्न गर्नका लागि पहल गर्दै आइरहेको जानकारी दिनुभयो । 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया