खेलकुद मन्त्रीले गरे एकवर्षे कार्यकालकाे विवरण सार्वजनिक

 चैत ३, २०७५ आइतबार १४:४६:१५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्मा सुनारले आफ्नो एक वर्षे कार्यकालको विवरण सार्वजनिक गर्नुभएकाे छ।

गएकाे वर्षको चैत २ गते केपी शर्मा ओलीले युवा तथा खेलकुदमन्त्रीको रुपमा विश्वकर्मालाई नियुक्त गरेपछि पद तथा गोपनीयताकाे सपथ लिएर सिंहदरबार पुगी कार्यभार सम्हाल्नुभएकाे थियाे।

२ गते नै एक वर्ष पुगे पनि सार्वजनिक बिदा परेकाले आइतबार पत्रकार सम्मेलन गरी मन्त्री विकले युवा विकास, खेलकुद विकास, प्रतियोगिता, प्रशिक्षण तथा प्रोत्साहन, ऐन, नियमावली, निर्देशिका/कार्यविधि निर्माण/संशोधन, संगठनात्मक सुधार, सुशासन गरी बुँदागत रुपमा ८ पृष्ठ लामो प्रगति  विवरण सार्वजनिक गर्नुभएकाे हाे ।

विवरणमा खेलकुद विकास अन्तर्गत काठमाण्डाै उपत्यकामा अन्तर्राष्ट्रियस्तरका खेल पूर्वाधारहरु, ७ वटै प्रदेशमा आधुनिक  सुविधा सम्पन्न रंगशाला निर्माण र ७ सय ५३ वटै स्थानीय तहमा खेलग्रामहरुकाे निर्माण कार्य लक्ष्यअनुरुप भइरहेको उल्लेख छ ।

यसैगरी खेल क्षेत्रको प्रशासनिक सुधार, खेलाडीको वृत्तिविकास, तालिम, प्रशिक्षण, सेवा-सुविधा, सम्मान/भत्ता, पुरस्कार/प्रोत्साहन, बीमा, नियमित प्रतियोगिता, खेल पर्यटनको विकास, साहसिक खेलको विकास र प्रवर्द्धनजस्ता काममा गुणात्मक फड्को मारेको तथ्य मन्त्रीले एक वर्षे कार्यकालमा गरेको कामको विवरणमा समेट्नु भएकाे छ ।

यसैगरी मन्त्री विश्वकर्माले पत्रकारहरुका जिज्ञासाको जवाफ दिने क्रममा १८१ वटा खेल संघहरुलाई तीन भागमा वर्गिकरण गर्ने योजना पेश गर्नुभएकाे थियाे । अन्तर्राष्ट्रिय स्तरमा मेडल प्राप्त गर्ने खेल संघहरुलाई  त्यही किसिमले राज्यले लगानी गर्ने, आर्थिक उर्पाजन तथा पर्यटन प्रवर्द्धनका हिसाबले दोस्रो र अन्यलाई तेस्रो तहमा वर्गीकरण गर्ने योजना रहेको बताउनुभयेा ।

यस्तै १३ औं साग खेलकु्द नेपालको प्रतिष्ठासँग जोडिएकाले जसरी पनि डिसेम्बरमा सम्पन्न हुने बताउनुभयाे । आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताको चाँडै मिति घोषणा हुने बताउँदै आठौं प्रतियोगिता सम्पन्न भए १३ औं सागका लागि खेलाडी छनोट पूरा हुने र प्रतियोगिता अगाडि बढाउन सहज हुने उहाँको भनाइ थियो ।

सागको उद्घाटनस्थलको रुपमा रहेको त्रिपुरेश्वरमा रहेकाे दशरथ रंगशाला पुन: निर्माणको काम तदारुकताका साथ भइरहेको भन्दै निर्धारित मितिमै पूरा हुने विश्वास व्यक्त गर्नुभयाे ।

प्रदेश पाँचमा आयोजना हुने आठौं राष्ट्रिय खेलकुदको पूर्वाधार अन्तर्गत भीआईपी तर्फको प्यारापिटको छानो हाल्ने काम मात्र बाँकी रहेको जानकारी दिँदै अबको १०–१५ दिनमा काम सकिने बताउनुभयाे । 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया