नेकपाका अध्यक्ष पुष्पकमल दाहाल पत्नी सिताकाे उपचारका लागि अमेरिका प्रस्थान

 चैत ३, २०७५ आइतबार १८:४३:४० | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

 काठमाण्डाै - सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल पत्नी सिता दाहालको उपचारका लागि अमेरिका प्रस्थान गर्नु भएको छ । 

अध्यक्ष दाहाल पत्नी सिताको स्वास्थ्य उपचारका लागि आइतबार अपरान्ह अमेरिका प्रस्थान गर्नुभएको हो । दाहाल पत्नी सिता पार्किन्सन्स जस्तो एक प्रकारको जटिल रोगले पीडित हुनुहु्न्छ । अमेरिकामा सो रोगको उपचारको व्यवस्था राम्रो हुने कुरा त्यहाँ रहेका केही साथीहरुले भनेपछि पत्नी सिताको उपचारका लागि आफू अमेरिका जान लागेको अध्यक्ष दाहालले जानकारी दिनुभयो ।

त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा उहाँले सञ्चारकर्मीमाझ पत्नी सिताले पनि आफूले एक पटक अमेरिका गएर स्वास्थ्य उपचार गर्ने मनसाय राखेपछि आफू उपचारका लागि अमेरिका जान लागेको पनि स्पष्ट पार्नुभयो । अध्यक्ष दाहालले यसअघि सो रोगको उपचारका लागि पत्नी सितालाई आफूले सिंगापुर पुर्‍याएको र केही समय त्यसले सहज बनाएको पनि स्मरण गराउनु भयो ।

दाहाल पत्नी सितालाई अमेरिकाको बाल्टिमोरमा रहेकाे ‘जोन हकिन्स’  अस्पतालमा उपचार गरिनेछ । वासिङटनमा रहेको एक अर्को सो रोगसम्बन्धि रिसर्च सेन्टरमा पनि पत्नी सिताको स्वास्थ्य परिक्षण गराउने योजना पनि रहेको अध्यक्ष दाहालले बताउनु भयो ।

दाहालका साथमा छोरी गंगा र ज्वाईँ जीवन आचार्य पनि रहनुभएको छ । एक हप्ताभन्दा बढी उपचारको समय लागे पत्नी सितालाई छोरी–ज्वाईँको साथमा छाडेर स्वदेश फर्कने अध्यक्ष दाहालको योजना छ ।

अन्तिम अपडेट: चैत ११, २०८०

तपाईको प्रतिक्रिया