कपिलवस्तुको कुदानमा पहिलो पटक निग्रोधाराम उत्सव गरिने

 चैत ३, २०७५ आइतबार २०:५४:१० | गोपाल भण्डारी
unn.prixa.net

कपिलवस्तु – गौतम बुद्धले ज्ञान प्राप्त गरेपछि आफ्ना माता पितालाई पहिलो पटक भेट गरेको स्थान निग्रोधाराम हाल कुदान भनेर चिनिने स्थलमा  पहिलो पटक निग्रोधाराम उत्सव हुने भएको छ । 

लुम्बिनी विकास कोषको आयोजना र कपिलवस्तु नगरपालिका, यशोधरा गाउँपालिका, कपिलवस्तु नगरपालिका वडा नं. २ को सहआयोजनामा चैत्र ६ गते उत्सवको आयोजना गरिन लागेको लुम्बिनी विकास कोषका सदस्य राजेश ज्ञवालीले बताउनु भयो । 

उत्सवलाई प्रदेश नं. ५ का पर्यटनमन्त्री लिला गिरीले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

उत्सवको अवसरमा कुदान क्षेत्रमा बौद्ध पूजा, दीप प्रज्ज्वलन, बौद्ध सम्बन्धी नाटक, बुद्ध गृहनगर प्रवेश गरेको स्मरणमा अबिर उत्सव लगायतका कार्यक्रमहरु सञ्चालन गरिने कोषका सदस्य ज्ञवालीले बताउनु भयो । 

निग्रोधाराम बौद्ध धर्म दर्शनको एक पवित्र स्थल हो । गौतम बुद्धले बुद्धत्व प्राप्त गरेपछि कपिलवस्तु फर्कँदा पिता राजा शुद्धोधनले पहिलो पटक गौतम बुद्धलाई कुदानमा नै भेट गरेको किंवदन्ती छ । 

चिनिया यात्री फायहन र ह्बेयसानका अनुसार बुद्धले ज्ञान प्राप्त गरेपछि कुदानमा राजा शुद्धोदनलाई दर्शन दिइ पत्नी यशोधरा, ठूली आमा प्रजापति र छोरा राहुललगायत करिब ५ सयलाई बौद्ध संघमा सामेल गराइएको पुस्तकहरुमा उल्लेख गरेको पाइन्छ । 

त्यस्तै देवदत्त र सिद्धार्थबीच हा“सको बिषयलाई लिएर विवाद हुँदा यसै स्थानमा न्याय दिइएको बुद्धकालीन इतिहासमा उल्लेख गरिएको छ । 
उत्सवलाई विशेष रुपमा वडाले पनि सघाउ गर्ने वडा अध्यक्ष राम भजन कलवारले बताउनु भयो ।

उत्सवको आयोजनाबाट आफ्नो वडामा रहेको यो स्थलको बौद्धकालीन पुरातात्विक महत्वको बारेमा प्रचार प्रसार हुने र पर्यटन प्रवर्धनमा सघाउ पुग्ने अपेक्षा गरिएको वडा अध्यक्ष कलवारले बताउनु भयो । 

अन्तिम अपडेट: चैत १५, २०८०

गोपाल भण्डारी

गोपाल भण्डारी कपिलवस्तुका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया