भोजपुरकै ठूलो इष्टर्न हाईड्रोको शेयर सर्वसाधारणको लागि खुला

 चैत ४, २०७५ सोमबार ८:३०:५७ | बुद्ध तामाङ
unn.prixa.net

भोजपुर – जिल्लाकै एकमात्र ठूलो इष्टर्न जलविद्युत् आयोजनाको संस्थापन शेयर जिल्लाबासीका लागि खुला गरिएको छ । भोजपुर नगरपालिकाका वडा नं ५, ६, ७ र ९ प्रभावित क्षेत्रका स्थानीय र जिल्लाभित्रका सर्वसाधारणका लागि शेयर खुला गरिएको हो ।

स्थानीयका लागि प्रति कित्ता १ सय रुपैयाँ र जिल्ला भित्र बसोबास गर्ने सर्वसाधारणका लागि प्रतिकित्ता १ सय ५० रुपैयाँ पर्ने गरि शेयर खुलाइएको छ । आयोजनाको पीपीए अनुसार कूल लगानीको केही प्रतिशत लगानी स्थानीयका लागि अनिवार्य हुने गरी शेयर खुलाइने तयारी भइरहेको आयोजनाका जनसम्पर्क अधिकृत दिपेन राईले बताउनुभयो । 

जनसम्पर्क अधिकृत राईले भन्नुभयो, ‘सेयरदाताले प्रभु बैंक भोजपुर शाखाबाट ५० कित्तादेखि १० हजार कित्तासम्म खरिद गर्न सक्नेछन् । आयोजनाको कूल लगानीमध्ये करिब १० प्रतिशत जति स्थानीयको लगानी हुने गरी पीपीए सम्झौता गरिएको छ । यही अनुरुप आयोजनाको शेयरमा स्थानीयबासीन्दा र जिल्लाबासीन्दालाई विशेष प्राथमिकता दिइएको हो ।’

शेयर खरिदका लागि आयोजनाले आधिकारिक रुपमा प्रभु बैंक भोजपुर शाखाबाट कारोबार सुरु गरेको जनाएको छ । आयोजनाको सम्पूर्ण काम सकिने क्रममा रहेको आयोजनाले जनाएको छ । आयोजनाको ९९ प्रतिशत काम सकिएको छ । आयोजनाको फोरबे, टरबाइन, पावरहाउस, इन्टेकलगायत मेकानिकल, सिभिलको काम सकिए पनि स्ट्रक्चरल बाइन्डिङमा केही फिनिसिङको काम बाँकी रहेको छ । 

आयोजनाको कूल एक अर्ब १५ करोडको प्राविधिक इस्टिमेटमध्ये प्रभावित क्षेत्रहरुमा कूल ६ करोड २० लाख बराबरको हिस्सामा शेयर दिनुपर्ने प्रावधान रहेको छ । अहिले आयोजनाको विद्युतगुृहदेखि भोजपुर नगरपालिकाको वडा नं ७ र ९ को सिमानामा पर्ने पानीट्याङ्कीसम्म ट्रान्समिटर र ट्रान्सफर्मर राख्ने, पोल गाड्ने, स्विच राख्ने, तार टाँग्नेलगायतका काम भइरहेको इन्जिनियर रोशन साहले जानकारी दिनुभयो । 

आगामी एकहप्ताभित्रै चाइनिज प्राविधिक टोलीले टरबाइन टेस्ट गरेपछि चैत महिनाभित्र सम्पूर्ण विद्युत प्रसारण गर्ने आयोजनाले जनाएको छ । आयोजनाको विद्युतीकरण सुरु भएको ३५ वर्षपछि यो आयोजना नेपाल विद्युत् प्राधिकरणलाई हस्तान्तरण गर्ने सम्झौता गरिएको  छ ।   

अन्तिम अपडेट: चैत १६, २०८०

बुद्ध तामाङ

बुद्ध तामाङ भोजपुरका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया